काठमाडौं, २२ असोज ।
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीसी) र रिब्डीकोट बुद्ध विहार, पाल्पाले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेका छन् ।
दुवै संस्थाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेका हुन् ।
भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बुधबार ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरिएको प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताले २८ लाख ९८ हजार ६७९ रुपैयाँ सहयोग गरेको छ । भूतपूर्व सैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष होमबहादुर थापा र सीएनसीबीसीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी, रिब्डीकोट बुद्ध विहार पाल्पाले ४० हजार रुपैयाँ सहयोग गरेको छ । विहारका अध्यक्ष हुमबहादुर थापाले मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
दुवै संस्थाबाट गरी भोटेकोशी बाढी प्रभावितका लागि २९ लाख ३८ हजार ६७९ रुपैयाँ सहयोग भएको छ ।





