बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारले आगामी दिनमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम अघि बढाउने बताउनुभएको छ। हेटौँडामा आयोजित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले नागरिकको स्वास्थ्यभन्दा भौतिक पूर्वाधारलाई प्राथमिकता दिन नहुने धारणा राख्नुभयो।
मुख्यमन्त्री थापामगरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न आरोह–अवरोह पार गर्दै हाल एमबीबीएस, एमडी तथा स्नातक तहका चारवटा विभिन्न संकायमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। प्रतिष्ठान र हेटौँडा अस्पतालबीच कार्यक्षेत्रलाई लिएर देखिएको अन्योल र समस्या नीतिगत रूपमा समाधान गर्न ऐन संशोधन गरिएको उहाँको भनाइ थियो। ऐन संशोधनपछि दुवै निकायबीचको समन्वय र सहकार्य थप मजबुत भएको उहाँले बताउनुभयो।
उहाँले संघीयता कार्यान्वयनअघि जिल्ला अस्पतालहरूको अवस्था कमजोर रहे पनि अहिले बागमती प्रदेशका १३ वटै जिल्लाका प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा, आवश्यक जनशक्ति र आधुनिक स्वास्थ्य उपकरण थप गर्दै सेवा विस्तार गरिएको जानकारी दिनुभयो।
हेटौँडा अस्पतालमा यसै वर्षदेखि मुटुरोग उपचारका लागि क्याथल्याब सेवा सञ्चालन गर्ने गरी बजेट र योजना तय गरिएको मुख्यमन्त्री थापामगरले बताउनुभयो। क्याथल्याब सञ्चालनमा आएपछि मकवानपुरसँगै मधेश प्रदेश र चितवनका बिरामीलाई मुटुसम्बन्धी उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने उहाँको भनाइ थियो।
त्यसैगरी हेटौँडा अस्पतालमा एमआरआई सेवा थप गर्ने तथा आमा र शिशुको विशिष्टीकृत उपचारका लागि आवश्यक स्थान र भौतिक पूर्वाधार तयार पार्ने काम तीव्र पारिएको उहाँले बताउनुभयो।
डायलिसिस मेसिनको अभावमा विगतमा बिरामीले सास्ती खेप्नुपरे पनि नयाँ मेसिन खरिद गरी सेवा विस्तार गरिएपछि अहिले बिरामीले लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको मुख्यमन्त्रीले दाबी गर्नुभयो।
हेटौँडा अस्पतालमा बिरामीको चापअनुसार शय्या अभाव भइरहेकाले प्रतिष्ठानको प्रशासनिक कार्यालयलाई अन्य सरकारी भवनमा सारेर हाल प्रशासनिक प्रयोजनमा रहेको स्थानलाई समेत बिरामीको उपचारका लागि प्रयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो।
मुख्यमन्त्री थापामगरले डीपीआरअनुसार निर्माण भएका केही भवनका भित्री संरचना साँघुरा र असहज देखिएको भन्दै आर्किटेक्ट इन्जिनियर तथा प्राविधिक टोलीको सुझावका आधारमा आवश्यक सुधार गरिने बताउनुभयो।
बागमती प्रदेशको कुल बजेटमध्ये स्वास्थ्य क्षेत्रमा करिब ४-५ प्रतिशत मात्र बजेट विनियोजन भएकोप्रति असन्तुष्टि जनाउँदै उहाँले आगामी वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “बाटो र पुल पनि आवश्यक छन्, तर नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता हो,” उहाँको भनाइ थियो।
प्रदेशका अस्पतालहरूमा आधुनिक स्वास्थ्य सेवा प्रणाली विकास भइरहेको जानकारी दिँदै मुख्यमन्त्रीले टेलिमेडिसिन, कागजरहित सेवाका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) तथा मोबाइल डिजिटल एपमार्फत अस्पतालका शय्या, ओपीडी र बिरामीको चाप प्रत्यक्ष अनुगमन गर्न सकिने व्यवस्था लागू गरिएको बताउनुभयो।
मुख्यमन्त्रीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै शिक्षा तथा स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।





