चाडपर्वलाई लक्षित गर्दै प्रदेश बागमती प्रदेशमा ४ हजार बढी प्रहरी परिचालन गरिँदै

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयबाट नजिकिँदै गरेको दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी प्रदेशका १० जिल्लामा ४ हजार ४९९ जना प्रहरी परिचालन हुँदैछन् ।

यात्रुको चाप बढ्ने भएकाले ४६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी ती कक्षमा दैनिक १२६ जना प्रहरी खटाइने प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरबाहेक बागमती प्रदेशका १० जिल्लामा ‘चाडपर्व सुरक्षा योजना–२०८३’ तयार गरी सुरक्षा व्यवस्था मिलाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले बताए। चाडपर्व लक्षित यात्रु सहायता कक्ष बसपार्कलगायत नाकामा राख्न थालिएको छ।

दसैं, तिहार र छठमा बसपार्कमा यात्रुको चाप बढी हुने भएकाले मुख्यगरी बसपार्कमा सहायता कक्ष राखिएको रेग्मीले बताए। उनका अनुसार कार्यालय सुरक्षाका लागि १ हजार ४६५ जना प्रहरी परिचालन गरिनेछ।

राजमार्गमा ट्राफिक प्रहरीसहित चेकिङ तथा अनुगमनका लागि ५८ वटा ड्युटीमा २११ जना प्रहरी परिचालन गरिने योजना छ। यसैगरी ३१ स्थानमा आकस्मिक चेकिङ गरिने र त्यसका लागि १३८ जना प्रहरी परिचालन गरिने रेग्मीले बताए। बजार अनुगमनका लागि १९ वटा टोली परिचालन गरिनेछ। चाडपर्वका अवसरमा आयोजना हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रमको सुरक्षाका लागि पनि आवश्यक संख्यामा प्रहरी परिचालन गरिने जनाइएको छ।

चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ। तिहारमा हुने पटका प्रयोगलाई नियन्त्रण गर्नसमेत आवश्यक तयारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सुरक्षा योजनाको कार्यान्वयन तथा अनुगमनका लागि बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, बागमती प्रदेश प्रहरी गण हेटौंडा र नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेबाट प्रहरी परिचालन तथा अनुगमन गरिनेछ। आवश्यकताअनुसार प्रदेशबाट थप प्रहरी टोलीसमेत परिचालन गरिने रेग्मीले जानकारी दिए।

उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका १० जिल्लामा ७ हजार ३०४ जनाको प्रहरी दरबन्दी छ। त्यसमध्ये ५ हजार ९३४ जना कार्यरत छन्। १८.३४ प्रतिशत अर्थात् १ हजार ३७० दरबन्दी खाली रहेको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट