काठमाडौं, १९ असोज ।
मकवानपुरका अग्रज साहित्यकार तथा हास्यव्यंग्यकार आरसी रिजाल भैरव पुरस्कार–२०८३ बाट सम्मानित हुनुभएको छ ।
भैरव पुरस्कार गुठीले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा रिजाललाई एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित सम्मानित गरेको हो । हास्यव्यंग्यकार भैरव अर्यालको ५०औँ स्मृति दिवसका अवसरमा रिजालसँगै अन्य दुई जना स्रष्टालाई पनि विभिन्न पुरस्कार प्रदान गरिएको छ ।
यस वर्षको भैरव वाङ्मय पुरस्कार साहित्यकार तथा कलाकार टेकवीर मुखियालाई प्रदान गरिएको छ । उहाँलाई एक लाख एक हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो । त्यस्तै, भैरव प्रतिभा पुरस्कारबाट देवीप्रसाद चापागाई सम्मानित हुनुभएको छ । चापागाईलाई ५१ हजार १११ रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिएको हो ।
रिजाल सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक, साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष तथा बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष हुनुहुन्छ । उहाँका विभिन्न हास्यव्यंग्य कृतिहरू प्रकाशित छन् ।
भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा भैरव अर्यालका छोरा दीपक अर्याल र छोरी रश्मि अर्यालको उपस्थिति थियो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, जोरपाटीस्थित भैरव स्मृति भवनको सभाकक्षमा आयोजित कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेल र निवर्तमान अध्यक्ष राजकुमार लामिछाने पनि सहभागी हुनुहुन्थ्यो ।





