मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिक सामुदायिक वनमा भेटिएको महिलाको शव करिब दुई महिनापछि पहिचान खुलेको छ।
२०८३ साल साउन २२ गते फेला परेको शव डीएनए परीक्षणपछि भारतकी २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुनको रहेको पुष्टि भएको हो । मकवानपुर प्रहरीका अनुसार मृतक भारतको बेतिया बैरिया थाना सरैया भटवलिया–६ निवासी विवाहित महिला हुन्।
उनी २०८३ साल वैशाख ९ गते ६ महिनाकी छोरीसहित श्रीमानको घरबाट दाँतको उपचारका लागि भन्दै निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। मृतकको पहिचान उनका कपडा, गहनालगायतका आधारमा खोजी गर्ने क्रममा भारतको प्रहरीसँगको समन्वयमा खुलेको प्रहरीले जनाएको छ।
चितवनको भरतपुर महानगरपालिका–३, बेलचोक, नौघरे, गणेशमार्गमा कोठा भाडामा लिएर बस्दै आएका २७ वर्षीय राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारसँग उनी बस्दै आएको समेत खुलेको थियो। प्रहरी अनुसन्धानबाट रुची खातुनको हत्या भएको र घटनामा राहुल कुमार गुप्ताको संलग्नता रहेको खुलेको हो ।
मृतककी आमा फातमा खातुनले भदौ ४ गते राहुलविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी थिइन्। डीएनए परीक्षणमा मृतकको डीएनए उनकी आमाको नमुनासँग मेल खाएपछि असोज १६ गते फातमा खातुनले शव बुझेर लगेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भनिएका राहुलविरुद्ध भारतको नगर थाना बेतियामा समेत मुद्दा दर्ता भएको र उनी हाल भारतको कारागार कार्यालय बेतियामा थुनामा रहेको प्रहरीले जनाएको छ।





