चितवन, १८ असोज ।
कालिका नगरपालिका–१०, सिद्धिस्थित चेपाङ सिद्धि होस्टेलमा आश्रित ७५ जना बालबालिकालाई सनराइज इङ्लिस सेकेन्डरी स्कुलले खाद्यान्न, दैनिक जीवनोपयोगी, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।
विद्यालयको आह्वानमा इन्टरयाक्ट क्लब अफ सनराइज, युथ रेडक्रस सर्कल अफ सनराइज तथा कम्युनिटी क्लब अफ सनराइजको सक्रिय सहभागितामा संकलित करिब ५० हजार रुपैयाँ बराबरका सामग्री होस्टेलका सञ्चालक भरत चेपाङलाई हस्तान्तरण गरिएको हो ।
बालबालिकाको अध्ययन, दैनिक जीवन तथा सिर्जनात्मक र शारीरिक विकासमा सहयोग पुर्याउने उद्देश्यले सामग्री प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख राजाराम पाठक, सहप्राचार्य भूमिराज तिवारी, आइटी हेड काशीराम आचार्य, प्लस टु संयोजक जीवलाल चालिसे, माध्यमिक तह संयोजक प्रकाश सुवेदीलगायत शिक्षक तथा विद्यार्थीको सहभागिता थियो । इन्टरयाक्ट क्लब अफ सनराइजकी अध्यक्ष सुरभी पुरीसहित विभिन्न विद्यार्थी क्लबका पदाधिकारीहरूको पनि उपस्थिति थियो ।
आफ्नो जन्मदिनसमेत सोही अवसरमा मनाउँदै गरेका माध्यमिक तह संयोजक प्रकाश सुवेदीले बालबालिकाको वृद्धि र विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले थप पाँच हजार रुपैयाँ नगद सहयोग गरे ।
कार्यक्रममा चेपाङ बालबालिकाले गीतमार्फत आफ्ना भावना, अनुभव र भोगाइ प्रस्तुत गरेका थिए । बालबालिकाको प्रस्तुतिले कार्यक्रममा भावनात्मक वातावरण सिर्जना गरेको थियो ।
होस्टेल सञ्चालक भरत चेपाङले छात्रावासमा आश्रित बालबालिकाको अवस्था, आवश्यकता र उनीहरूको शिक्षाका लागि आफूले गर्दै आएका प्रयासबारे जानकारी गराउँदै प्राप्त सहयोगले बालबालिकाको दैनिक जीवन र अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
विद्यालयले शिक्षा कक्षाकोठाको सिकाइमा मात्र सीमित नभई सेवा, सहकार्य, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनासँग पनि जोडिनुपर्ने मान्यताअनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।





