भरतपुर, १७ असोज ।
साहित्य सङ्गम चितवनको आयोजनामा शनिबार दुईवटा कृति विमोचन गरिएको छ ।
पूर्णबहादुर अधिकारीको निबन्धसङ्ग्रह `देब्रेहात´ र पूर्णप्रसाद अधिकारीको समालोचनासङ्ग्रह `सिर्जनधर्मिता चितवनका नारी स्रष्टा´को एकसाथ विमोचन गरिएको हो । नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा आयोजित कार्यक्रममा साहित्य सङ्गम चितवनका अध्यक्ष शशिकिरण रेग्मीले कृति विमोचन गर्नुभएको हो ।
कृतिमाथि डाक्टर धनेश्वर भट्टराई, भगवती सापकोटा र कपिल अज्ञातले चर्चा गर्नुभएको थियो ।
निबन्धसङ्ग्रह देब्रेहात साहित्यकार अधिकारीको १२ औँ कृति हो । सङ्ग्रहमा लामाछोटा गरेर १७ वटा निबन्ध छन् । निबन्धमार्फत निबन्धकार अधिकारीले व्यक्ति र समाजका कमजोरीका साथै बदमासीमाथि प्रहार गर्दै सचेतता र सुधारको सङ्केत गरेका छन् ।
समालोचक पूर्णप्रसाद अधिकारीको पछिल्लो समीक्षात्मक कृति हो— ‘सिर्जनधर्मितामा चितवनका नारी स्रष्टा’ । चितवनलाई पूर्णतः वा आंशिक रूपमा कार्यथलो बनाएर साहित्य सिर्जनामा सक्रिय ७४ जना नारी स्रष्टाका कृतिमाथि सामान्य समीक्षा प्रस्तुत गरिएको यस पुस्तकमा चितवनको साहित्यिक परिवेशमा नारी स्रष्टाहरूले पुर्याएको योगदानलाई समेटिएको छ ।
साहित्य सिर्जनामा सक्रिय नारी स्रष्टाहरूका कृति, सिर्जनशीलता र साहित्यिक योगदानलाई एकै ठाउँमा अभिलेखीकरण गर्ने प्रयासका रूपमा पनि पुस्तकलाई लिन सकिन्छ । यसले चितवनको साहित्यिक इतिहास र वर्तमानलाई बुझ्न तथा यहाँको साहित्यिक गतिविधिलाई दस्तावेजीकरण गर्न सहयोग पुर्याउने देखिन्छ ।
चितवनका नारी स्रष्टाहरूको सिर्जनात्मक यात्रालाई समीक्षात्मक दृष्टिले प्रस्तुत गरेको ‘सिर्जनधर्मितामा चितवनका नारी स्रष्टा’ ले चितवनको साहित्यिक गोरेटोमा थप बल पुर्याएको छ ।





