वन विज्ञानको ज्ञान समाज र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

मकवानपुर, १६ असोज ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले वन विज्ञानबाट प्राप्त ज्ञान, सीप र अनुसन्धानलाई समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसले शुक्रबार आयोजना गरेको फर्स्ट ग्राजुएट कन्फ्रेन्समा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री थापाले वनले वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, जलाधार तथा माटो संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले जलवायु परिवर्तन, वन डढेलो, जैविक विविधताको ह्रास तथा मानव–वन्यजन्तु द्वन्द्वलाई वन तथा वातावरण संरक्षणका प्रमुख चुनौतीका रूपमा उल्लेख गर्नुभयो । यी चुनौतीको सामना गर्न सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री थापाले वन विज्ञानबाट उत्पादित दक्ष जनशक्तिको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेशमा प्राकृतिक स्रोत संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।

अनुसन्धानलाई नीति निर्माण र स्थानीय समस्याको समाधानसँग जोड्नुपर्ने उल्लेख गर्दै उहाँले विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

युवाहरूले आफ्नो ज्ञान र सीपलाई स्थानीय आवश्यकता पूरा गर्न तथा वन, वातावरण र जैविक विविधता संरक्षणमा प्रयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सम्मेलनले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता तथा नीति निर्माताबीच ज्ञान, अनुभव र नयाँ विचार आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको मुख्यमन्त्री थापाले बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट