देवचुली, १६ असोज ।
देवचुली नगरपालिकाले नगरभित्रका बजार क्षेत्रमा अनुगमन गरेको छ । बुधबार देवचुली–१३ को दलदले बजार र देवचुली–१५ को प्रगतिनगर बजार क्षेत्रमा रहेका व्यापारिक प्रतिष्ठान, स्वास्थ्य पोलिक्लिनिक तथा होटलहरूको अनुगमन गरिएको हो ।
देवचुली नगरपालिका प्रशासन शाखाका अधिकृत सङ्गीता सापकोटाको संयोजकत्वमा कृषि तथा स्वास्थ्य शाखा, देवचुली उद्योग वाणिज्य संघ, नगर प्रहरी, इलाका प्रहरी कार्यालय रजहरका प्रतिनिधि तथा फुड टेक्नोलोजिस्टसहितको टोलीले बजार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा केही व्यवसाय बिना दर्ता सञ्चालनमा रहेको, म्याद गुज्रिएका सामग्री बिक्री–वितरण भइरहेको तथा आवश्यक प्रक्रिया पूरा नगरेको पाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार अनुगमनका क्रममा व्यवसायीहरूलाई प्रचलित कानुनअनुसार व्यवसाय दर्ता तथा नवीकरण गर्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न तथा आवश्यक प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न सुझाव दिइएको छ ।
नगरपालिकाले बजारमा उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षणका लागि अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।





