भरतपुर, ९ असोज ।
सनातन संस्कृति संरक्षण तथा ज्येष्ठ नागरिकका बदलिँदा चुनौतीबारे भरतपुरमा संवाद कार्यक्रम गरिएको छ । भरतपुर – ७ निवासी खडानन्द हुमागाईँको चौरासी पूजाको अवसरमा शुक्रबार भरतपुरस्थित चेतना भिलेजमा वैदिक तथा साहित्यिक व्यक्तित्वहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।
भाषा, कला तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. एकनारायण पौड्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनाल, साहित्यकार डा. धनेश्वर भट्टराई, डिभिजन वन कार्यालय भरतपुरका प्रमुख विष्णुप्रसाद आचार्य, संस्कृतिविद् सञ्जीव पौडेल, अभिव्यञ्जना साहित्य प्रतिष्ठानकी अध्यक्ष विद्या भण्डारी ‘चिराग’, नेपाली लेखक सङ्घ चितवनकी अध्यक्ष शान्ति शर्मालगायतले सनातन संस्कृति र ज्येष्ठ नागरिकका विविध पक्षबारे विचार राख्नुभएको थियो ।
कार्यक्रममा बाबुराम पाण्डे, सोम शर्मा, रमेश प्रभात, डा. केशवराज चालिसे, बालकृष्ण थपलिया, लेखराम सापकोटालगायतका स्रष्टाहरूको सहभागिता थियो । स्थानीय ज्येष्ठ नागरिक मञ्च, कृष्णपुरमा आबद्ध ज्येष्ठ नागरिक तथा त्रिभुवन विश्वविद्यालय पोखरा नर्सिङ क्याम्पसका विद्यार्थीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुआत छोरा यादव हुमागाईँको स्वागत मन्तव्यबाट भएको थियो । वक्ताहरूले चौरासी पूजा उमेरसँग मात्र जोडिएको संस्कार नभई ज्येष्ठ नागरिकप्रति सम्मान र उनीहरूको अनुभव तथा ज्ञानलाई पुस्तान्तरण गर्ने अवसरका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
छलफलमा चौरासी पूजा शारीरिक अवस्था र उमेरलाई समेत आधार मानी ६०–६५ वर्षदेखि नै गर्न सकिने व्यवस्था, हजुरबा–हजुरआमा दिवस मनाउने, औपचारिक शिक्षामा ज्येष्ठ नागरिकका सवाल समेट्ने पाठ्यक्रम निर्माण गर्ने तथा ज्येष्ठ नागरिकको भौतिक र अभौतिक संस्कृतिको संरक्षण गर्ने विषय उठाइएको थियो ।
वक्ताहरूले ज्येष्ठ नागरिकलाई ‘जीवित गुगल’ को संज्ञा दिँदै उनीहरूमा रहेको जीवनअनुभव, ज्ञान र संस्कार नयाँ पुस्तासम्म पुर्याउनुपर्ने धारणा राखेका थिए । नेपाली चेलीहरूले युरोपमा ज्येष्ठ सासु–ससुराको स्याहार गरेको उदाहरणदेखि वृद्ध बाबुआमालाई परिवारबाट अलग गर्दा ज्ञान र अनुभवको पुस्तान्तरणमा पर्ने असरबारे समेत चर्चा गरिएको थियो । कार्यक्रमका बीच–बीचमा प्रस्तुत कविता तथा गजलले संवादलाई थप रोचक बनाएको थियो ।
साहित्यकार शान्ति शर्माले खडानन्द हुमागाईँको चौरासी पूजाको अवसरमा आयोजित कार्यक्रमले ज्येष्ठ नागरिकप्रतिको सम्मान र आत्मीयताको सन्देश दिएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई समाजका ‘जीवित अभिलेख’ र समाजका ‘जरा’का रूपमा व्याख्या गर्दै उनीहरूको सम्मान, सेवा र आत्मीयता आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रमको अन्त्यमा खडानन्द हुमागाईँले उपस्थित महानुभावहरूलाई श्रीमद्भागवत गीता तथा रुद्राक्षको माला प्रदान गरी सम्मान गर्नुभएको थियो । आयोजक यादव हुमागाईँका अनुसार चौरासी पूजाको अवसरमा धार्मिक संस्कारसँगै सामाजिक तथा सांस्कृतिक विषयमा संवाद गर्ने अभ्यासले नयाँ परम्पराको सुरुआत गरेको छ ।





