चितवन, ९ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. ३ मा ३५ वर्षमुनिको युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधि पदमा युवा नेता प्रविन देवकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।
वि.सं. २०६४ देखि नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिक यात्रा सुरु गरेका देवकोटाले पार्टीमा नवीन सोच, रूपान्तरण र वैचारिक स्पष्टता आवश्यक रहेकाले आफूले उम्मेदवारी दिएको बताएका छन् ।
नेविसंघ खैरहानी माध्यमिक विद्यालयका सचिव तथा जिल्ला सदस्य हुँदै हाल नेविसंघ चितवनको जिल्ला सचिवको जिम्मेवारीमा रहेका देवकोटा लोकतान्त्रिक आन्दोलनमा सक्रिय युवा नेताका रूपमा परिचित छन् । चितवनको विकट क्षेत्र मानिने माडीमा रहेर पनि जिल्ला तहको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनी विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन् ।
युवा पुस्ताको आवाजलाई पार्टीको नीति निर्माण तहमा प्रभावकारी रूपमा स्थापित गर्नुपर्ने बताउँदै देवकोटाले आधुनिक, विचारशील र समृद्ध कांग्रेस निर्माणका लागि युवा नेतृत्व आवश्यक रहेको बताएका छन् ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए पार्टीभित्र नयाँ ऊर्जा थप्न र युवा पुस्ताको प्रतिनिधित्व बलियो बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै उनले क्षेत्रीय प्रतिनिधि, अग्रज, समकक्षी तथा शुभेच्छुकहरूसँग सहयोग, समर्थन र मतदानका लागि अपिल गरेका छन् ।





