लीला शर्माको संघर्षकथा ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ माथि सम्पूर्ण किताबमा बहस

भरतपुर, ८ असोज ।
पूर्व जनमुक्ति सेना तथा पूर्व जनमुक्ति सेना महिला प्रतिष्ठान नेपालकी निवर्तमान अध्यक्ष लीला शर्माको संस्मरणात्मक कृति ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ माथि बिहीबार बिहान भरतपुरमा छलफल गरिएको छ ।

सम्पूर्ण किताब नारायणगढमा आयोजित चियाछलफल कार्यक्रममा जिल्लाका कवि, लेखक, साहित्यकार तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता थियो । कार्यक्रममा लेखक शर्माले कृतिमा समेटिएका आफ्ना जीवनभोगाइ र संघर्षका विभिन्न पाटाबारे अनुभव सुनाएकी थिइन् ।

दशवर्षे जनयुद्धका क्रममा जनमुक्ति सेनाको कमाण्डरका रूपमा युद्धभूमिमा बिताएका दिनदेखि क्यान्सरसँगको संघर्ष र त्यसबाट उन्मुक्तिसम्मको यात्रालाई शर्माले कृतिमा संस्मरणका रूपमा प्रस्तुत गरेकी छन् । व्यक्तिगत जीवनका संघर्षसँगै तत्कालीन युद्धको परिवेश, अनुभूति र स्मृतिलाई समेत समेटिएको पुस्तकले एक महिला युद्धकर्मीको जीवनयात्रा र इतिहासलाई अभिलेख गर्ने प्रयास गरेको छ ।

छलफलमा उदय अधिकारी, कृष्ण आचार्य, सन्तोष मजाकोटी, होमनाथ दाहाल, अम्बिका मुडवरी, नेत्रप्रसाद आचार्य, विष्णु तिवारी ‘उषा’ र ईश्वर सापकोटा ‘सुमन’ लगायतले कृति, लेखक शर्माको साहित्यिक तथा राजनीतिक योगदान र जीवनसंघर्षबारे धारणा राखेका थिए ।

टिप्पणीकार कृष्ण आचार्यले जीवन सोचेजस्तो सहज नभए पनि असम्भव भन्ने केही नरहेको बताए । उनका अनुसार ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ केवल युद्धको कथा नभई प्रेम, स्नेह, संघर्ष र जीवनप्रतिको आत्मबलको कथा हो ।

“युद्ध जित्नु जीवन जित्नु होइन रहेछ, जीवन जित्न गोली र बारुद होइन, आत्मबल चाहिँदो रहेछ,” आचार्यले भने, “जीवनमा म पूर्ण सफल भएँ वा असफल छु भन्ने भ्रम चिर्न पनि यो कृति उपयोगी छ ।”

उनले पुस्तकमा एक महिला युद्धकर्मीले भोगेको संघर्ष, चुनौती र जीवनप्रतिको दृढतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए । उनका अनुसार कृतिले पाठकलाई आफ्नो जीवनको महत्व बुझ्न र कठिन परिस्थितिमा पनि संघर्ष गर्ने प्रेरणा दिन्छ ।

जनयुद्धको कठिन समयदेखि क्यान्सरसँगको लडाइँसम्म शर्माले भोगेका अनुभवलाई समेटिएको पुस्तकलाई प्रेरणादायी तथा मार्मिक कृतिका रूपमा प्रस्तुत गरिएको छ । विशेषगरी महिलाहरूका लागि संघर्ष, साहस र आत्मविश्वासको प्रेरणा दिने पुस्तकका रूपमा यसलाई लिइएको छ ।

नेपालयबाट प्रकाशित पुस्तकको मूल्य ५७५ रुपैयाँ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट