गैंडाकोट । गैंडाकोट – २ स्थित गैंडाकोट इङ्ग्लिस स्कुलले विद्यार्थीलाई शारीरिक सजाय दिने एक शिक्षकलाई सेवाबाट निष्कासन गरेको छ ।
गत असोज ४ गते शिक्षकको सजायका क्रममा कक्षा ८ मा अध्ययनरत विद्यार्थीको कानमा चोट लागेको घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालयले तत्काल उक्त कारबाही गरेको हो। कुनै पनि प्रकारको शारीरिक तथा मानसिक सजाय दिनु विद्यालयको नीति, शिक्षक आचारसंहिता र प्रचलित कानुनविपरीत रहेको विद्यालयले स्पष्ट पारेको छ।
यस्तै विद्यालयले बुधबार विज्ञप्ति एवं ध्यानाकर्षण पत्र जारी गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएको ‘कानको जालीमा ८० प्रतिशत क्षति भएको’ भन्ने समाचार तथ्यहीन, अपूर्ण र भ्रामक रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ती समाचारमा स्रोतका रूपमा उल्लेख गरिएकी विद्यार्थीकी सानिमा नन्दिता फाल मगरले समेत ८० प्रतिशत क्षति भएको भन्ने कुरा अतिरञ्जित रहेको र आफूले त्यस्तो झुटो सूचना नदिएको भनी खण्डन गरेको विद्यालयले जानकारी गराएको छ।
साथै, अभिभावकले पेस गरेको अस्पतालको रिपोर्टमा पनि प्रकाशित सूचना अनुसारको गम्भीर अवस्था नरहेको विज्ञप्तिमा उल्लेख छ।
हाल ती विद्यार्थीको अवस्था सामान्य रहेको र उनी विद्यालयको नियमित पठनपाठनमा सहभागी भइरहेको विद्यालयले जनाएको छ। घटनाबाट उत्पन्न असहजता र पीडाप्रति क्षमायाचना गर्दै विद्यालयले भविष्यमा यस्ता घटना दोहोरिन नदिन बालमैत्री शिक्षण पद्धति, विद्यार्थीको मर्यादा र बालअधिकारसम्बन्धी कानुनी व्यवस्थाको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको जनाएको छ।





