भरतपुर, ८ असोज ।
भोटेकोसी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि चितवनमा दुई संस्थाले दुई लाखभन्दा बढी रकम सहयोग गरेका छन् ।
टाइगर टप्स कर्मचारी बचत तथा कल्याणकारी कोषले रु. १ लाख ४ सय र पर्वतको फलेवास–८ ठाना खाल्टेस्थित राजमान घले समाज स्मृति कोष परिवारले रु. १ लाख १५ हजार ५ सय ५१ सहयोग गरेका हुन् । दुवै संस्थाले सहयोग रकम चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेका छन् ।
टाइगर टप्स कर्मचारी बचत तथा कल्याणकारी कोषका अध्यक्ष एवं टाइगर टप्स प्रालिका प्रबन्धक रामसिंह गुरुङले कोषका तर्फबाट रु. १ लाख ४ सयको चेक हस्तान्तरण गर्नुभयो । टाइगर टप्स जंगल लज बन्द भएपछि रोजगारी गुमाएका कर्मचारी तथा उनीहरूका परिवारले स्थापना गरेको कोषमार्फत रकम संकलन गरिएको गुरुङले बताउनुभयो ।
टाइगर टप्स जंगल लज २०६९ साल साउन १ गतेदेखि बन्द भएपछि करिब ३०० कर्मचारी प्रभावित भएका थिए । बाढी तथा अन्य विपद्का समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले २०७८ साल माघ १८ गते कर्मचारी बचत तथा कल्याणकारी कोष स्थापना गरिएको गुरुङले जानकारी दिनुभयो । कोषमा आबद्ध कर्मचारी तथा प्रभावित परिवारबाट संकलित रकमबाट भोटेकोसी बाढीपीडितलाई सहयोग गरिएको उहाँको भनाइ छ ।
त्यस्तै, साविक ठानामौला, हाल फलेवास–८ ठाना खाल्टे, पर्वतका स्वर्गीय राजमान घले र विष्णुकुमारी घलेको स्मृतिमा २०७९ साल माघ १२ गते गम्बर सिंह घलेको नेतृत्वमा स्थापना भएको राजमान घले समाज स्मृति कोष परिवारले रु. १ लाख १५ हजार ५ सय ५१ सहयोग गरेको हो ।
कोष परिवारका तर्फबाट संकलित उक्त रकमको चेक पनि प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरिएको छ ।
दुवै संस्थाले विपद्को कठिन अवस्थामा भोटेकोसी बाढीपीडितलाई सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताएका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत सहयोग रकम सम्बन्धित कोषमा हस्तान्तरण गर्न पाउँदा आफूहरू खुसी रहेको उनीहरूको भनाइ छ ।





