भरतपुर, २६ भदौ ।
भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना पुरुषजस्तो देखिने व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए ।
मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक रूपमा प्राप्त CCTV फुटेजमा गुडिरहेको कारमा आगो लागेको देखिएको छ । आगो लागेपछि चालकले कारलाई सुरक्षित स्थानतर्फ सर्भिस लेनमा ल्याएको देखिए पनि कारको ढोका खोलेर बाहिर निस्कन नसकेको दृश्यसमेत फुटेजमा देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । घटनाको कारण र मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।





