सम्पूर्ण किताब नारायणगढको नवौँ वार्षिकोत्सवमा छात्रालाई शैक्षिक सामग्री सहयोग

भरतपुर, २३ भदौ ।
सम्पूर्ण किताब नारायणगढले आफ्नो नवौँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत एक छात्रालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

सम्पूर्ण किताबले कालिका नगरपालिका–३, पदमपुरस्थित श्री राष्ट्रिय जनहित माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत प्रमिका दोङलाई शैक्षिक सामग्रीसहित नगद सहयोग गरेको हो । उनलाई नयाँ लुगा, कापी, कलम, क्यालकुलेटर, ज्यामिती बक्स, स्याम्पु, रिबन, साबुन, नेलकटर, बालकथाहरू, मञ्जन, ब्रस, सेनेटरी प्याडलगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

विद्यालयकी प्रधानाध्यापक कमला पाण्डेसहित चितवन र नवलपरासीका साहित्यिक, शैक्षिक तथा सामाजिक व्यक्तित्वको उपस्थितिमा विद्यार्थी दोङलाई सामग्री हस्तान्तरण गरिएको हो ।

सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाका अनुसार वि.सं. २०७५ भदौ २३ गते स्थापना भएदेखि नै संस्थाले हरेक स्थापना दिवसका अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत एक जना छात्रालाई शैक्षिक सामग्री सहयोग गर्दै आएको छ । शैक्षिक सामग्री जुटाउनसमेत कठिनाइ हुने विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग गर्ने गरिएको उनले बताए ।

‘स्थापनाकालदेखि नै स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आएका छौँ,’ सञ्चालक सापकोटाले भने, ‘आर्थिक अभावका कारण पढाइमा समस्या भोगिरहेका विद्यार्थीलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले हरेक वर्ष एक जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै आएका छौँ ।’

विद्यालयकी प्रधानाध्यापक कमला पाण्डेले राष्ट्रिय जनहित माध्यमिक विद्यालयलाई सहयोगका लागि छनोट गर्नु सकारात्मक पक्ष भएको बताइन् । सुकुम्बासी बस्तीमा रहेको विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीका अभिभावकको आर्थिक अवस्था कमजोर रहेको उनले जानकारी दिइन् ।

‘हाम्रो विद्यालय अहिलेसम्म पूर्जाविहीन जमिनमा बसिरहेको छ । यहाँका अभिभावक सबैको आर्थिक अवस्था कमजोर छ,’ उनले भनिन्, ‘वडाध्यक्ष शैक्षिक व्यक्तित्व भएकाले हरेक वर्ष वडाबाट थोरै–थोरै बजेट उपलब्ध हुँदा विद्यालय सञ्चालनमा केही सहज भएको छ ।’

उनका अनुसार आर्थिक रूपमा कमजोर परिवारका ५३० जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । यस्तो अवस्थामा बाह्य क्षेत्रबाट प्राप्त हुने सहयोगले विद्यार्थीको अध्ययनमा समेत सकारात्मक प्रभाव पार्ने उनले बताइन् ।

स्थापना दिवसलाई केवल औपचारिक उत्सवमा सीमित नगरी सामाजिक सेवासँग जोड्दै आएको सम्पूर्ण किताबले यस वर्ष पनि विगतको परम्परालाई निरन्तरता दिएको हो ।

कार्यक्रममा पूर्वशिक्षक एवं साहित्यानुरागी पोषराज पौडेल, अध्येता एवं समीक्षक उदय अधिकारी, लेखक एवं नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली, शिक्षासेवी भूपेन्द्र धिताल, समाजसेवी नेत्रप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट