पुष्पाञ्जली सहकारीको अध्यक्षमा नेत्रप्रसाद आचार्य चयन

भरतपुर, २० भदौ ।
पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर–१, नारायणगढ, चितवनको १७औँ वार्षिक साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८३/०८७ का लागि नेत्रप्रसाद आचार्यको नेतृत्वमा नयाँ सञ्चालकसमिति सर्वसम्मत चयन गरेको छ । अघिल्लो सञ्चालकसमितिमा उपाध्यक्ष रहेका आचार्य संस्थाका संस्थापकसमेत हुन् । उनी संस्थाको सुरुवाती चरणमा पनि उपाध्यक्षको जिम्मेवारीमा थिए ।

नवनिर्वाचित सञ्चालकसमितिको उपाध्यक्षमा प्रभात ढुङ्गाना, सचिवमा अरुणकुमार खनाल र कोषाध्यक्षमा दिनेशराज रेग्मी चयन भएका छन् । सदस्यहरूमा इन्द्रकला घिमिरे, रामगोपाल श्रेष्ठ, ध्रुव पौडेल, विनिता नेपाल र अन्नपूर्ण ढुङ्गाना चयन भएका छन् ।

त्यस्तै, लेखापरीक्षण समितिको संयोजकमा जयन्द्रप्रसाद पौडेल तथा सदस्यमा उमाकान्त पौडेल र विष्णुप्रसाद ढकाल चयन भएका छन् ।

निर्वाचन समिति संयोजक श्रवण रेग्मीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई सपथ गराएका थिए ।

२०६६ सालमा स्थापना भएको सहकारीमा हाल ८०६ जना शेयर सदस्य रहेका छन् । संस्थापक अध्यक्ष शंकर नेपालले समान सोच, समान उद्देश्य र आपसी विश्वास भएका ३० जना व्यक्तिहरू एउटै लक्ष्य लिएर एकै ठाउँमा उभिएर संस्था स्थापना गरेको र अहिलेको अवस्थासम्म आइपुगेको बताए ।

संस्थाको कुल पुँजी ५ करोड ३६ लाख ७४ हजार रुपैयाँ रहेको जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट