भरतपुर, १९ भदौ ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक सञ्चालनका लागि ट्र्याक खोल्ने काम सुरु गरिएको छ ।
मलेखु–मुग्लिन सडकका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाका अनुसार शुक्रबारदेखि कृष्णभीरको दुवैतर्फ दुई/दुई वटा एक्स्काभेटर परिचालन गरी ट्र्याक खोल्न थालिएको हो ।
पहिरो गएको स्थानभन्दा माथिल्लो भागको भित्ताबाट सडकको ट्र्याक खोल्न लागिएको हो । ७ मिटर चौडाइको सडक सञ्चालन हुने गरी ट्र्याक खोल्ने काम अघि बढाइएको देवकोटाले बताए ।
ट्र्याक खोल्नुअघि बिहीबारदेखि रुख काट्ने तथा सडक छेउमा रहेका ग्याबिन निकाल्ने काम सुरु गरिएको थियो ।
मलेखु–मुग्लिन सडक आयोजनाकी प्रमुख सजना अधिकारीले जतिसक्दो छिटो सडक सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको बताइन् ।
उनका अनुसार भदौ महिनाभित्रै कृष्णभीरमा सडक सञ्चालन गर्ने लक्ष्यसहित ट्र्याक खोल्ने काम भइरहेको छ ।





