भरतपुर, २० भदौ ।
भोटेकोशीमा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित एवं घाइतेहरूको सहयोगार्थ शनिबार भरतपुर महानगरपालिका–११ स्थित सल्लेरी टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सल्लेरी टोल विकास संस्थाको आयोजना, सल्लेरी टोल आमा समूहको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा स्थानीय टोलवासी तथा इच्छुक रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा ३४ जना रक्तदाताले रक्तदान गरेका छन् ।
विपद्का समयमा घाइते तथा बिरामीको उपचारका लागि आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरूले ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने भावनाका साथ सहभागी भएका थिए ।
सल्लेरी टोल विकास संस्थाका अध्यक्ष सञ्जय अधिकारीले रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, सहयोगी संस्था, टोलवासी तथा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।





