चितवन, २० भदौ ।
भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका आफन्तहरूले चितवनमा डीएनए परीक्षणका लागि नमुना संकलन गराइरहेका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चन्द्रभूषण यादवका अनुसार हालसम्म ६ भारतीय नागरिकसहित ६८ जना आफन्तले डीएनए परीक्षणका लागि नमुना दिएका छन् ।
रसुवा र नुवाकोट क्षेत्रमा बसोबास गर्ने तथा रोजगारीलगायत विभिन्न सिलसिलामा ती क्षेत्रमा पुगेका तर भोटेकोशी बाढीपछि सम्पर्कमा नआएका व्यक्तिका आफन्तले नमुना दिएका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार डीएनए परीक्षणका लागि नमुना संकलनको सुविधा अन्य जिल्लामा पनि उपलब्ध छ । त्यसैले सम्बन्धित व्यक्तिका आफन्तले चितवन नै आउनुपर्ने बाध्यता छैन । उनीहरूले आफ्नै जिल्लाबाट समेत नमुना दिन सक्ने प्रहरीले जनाएको छ ।
चितवन प्रहरीका अनुसार हालसम्म ३ सय ६२ वटा शव फेला परेका छन् । तीमध्ये १४ जनाको पहिचान खुलेर सनाखत भइसकेको र आफन्तले शव बुझिसकेका छन् ।





