बाढीका मान्छेहरू (कविता)

अनि फेरि अलि उँचो ठाउँ पुगेर
बाँस गाड्छन्,
त्रिपाल टाँग्छन् ,
ढुङ्गा जोडेर अँगेना बनाउँछन् ,
पकाउँछन् भात वा अरु केही
जेजति संभव छ
नभए सिङ्गो भोक ओढेर
खोलो सँगसँगै
पेट सुसाएको सुन्दै रात कटाउँछन् ।

राहतको चाउचाउ र चामलको लाइनमा बस्छन् ,
दानको जडौरी लुगा जति गन्हाउने होस् ,
आँखालाई जति बिझोस् ,
चाहे गलाबाट सिउरेको लुगा घुँडासम्म छोपोस्,
कुर्कुच्चा पस्न जोडको बल परोस्
वा कम्मर बटारेर दोबार्न किन नपरोस्
हात थाप्छन्
र बगर बनेको आफ्नो घर,खेतवारी हेरेर
छातीको बगर छाम्छन् ।

यतिबेला आफन्ती पनि परपर सर्न सक्छन्
बरु परचक्री वरपर आउन सक्छन् ।

सरकारहरू पुग्छन् ,
पत्रकार ,युवटुबर पुग्छन्
एक पछि अर्को लर्को
र उही प्रश्न दोहोराउँछन् –
तपाईंलाई कस्तो छ ?
उनीहरू भन्न सक्छन् –
“ठीकै छ ।”

यही `ठीकै छ´ को संक्षिप्त वाक्यभित्र
आगोले डढाएर खरानी भएको भित्तोको
दुई खाँबोका काला ठूटाजस्ता दुई आँखामा
धुवाँ र अङ्गार देख्न सकिन्छ ।

आफ्ना मात्रै त विनाश हैन, अरुका पनि दु: ख उही छ
चित्त थुमथुमाउँछन्
अनि खुइय्य खुइय्य गर्दै
भोलिको घाम कुर्न थाल्छन् ।

केही दिन पूजाआजा गर्दैनन्
भगवान मरे कि जिउँदैछन् ?
यही अनिश्चयमा
आकाशतिर हेरिबस्छन् ।

र एक मिनेट एक युगझैँ घिसार्दै
बेपत्ता परिवारजनको खबर सोधी हिँड्छन् ।।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट