काठमाडौं, २८ भदौ ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्यका लागि रुख कटान सुरु गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ ।
पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ । रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिनेछ ।
सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र गतिमा अघि बढाइएको मन्त्री लम्सालले जानकारी दिएका छन् ।




