भोटेकोशी बाढी : जापानबाट पनि आयो राहत सामग्री

काठमाडौं । जापान सरकारले बाढी तथा पहिरो प्रभावित नेपालीका लागि आपत्कालीन राहत सामग्री सहयोग गरेको छ । जापानका लागि नेपालस्थित राजदूत तोरु माएदाले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता सामग्री व्यवस्थापन क्षेत्रमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

जापानको जनता तथा सरकारका तर्फबाट उपलब्ध गराइएको राहत सामग्रीमा कम्बल, प्लास्टिक सिट, सुत्ने म्याट, टेन्ट र प्रभावित समुदायका लागि पोर्टेबल जेरी क्यानलगायत सामग्री छन् ।

गत भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रनजिक आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति जापानले सहानुभूति व्यक्त गर्दै आपत्कालीन सहयोग उपलब्ध गराएको हो ।

जापान–नेपाल शिखर टेलिफोन वार्ताका क्रममा दुवै पक्षले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गरेका थिए। जापानले विपद्को यस अवस्थामा नेपालसँग ऐक्यबद्धता जनाउँदै आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

जापान सरकारले राहत सामग्रीले विपद्बाट प्रभावित नागरिकले भोगिरहेको कठिनाइ कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, प्रभावित क्षेत्रमा भइरहेको पुनःस्थापना तथा पुनर्निर्माणका काम क्रमशः अघि बढ्दै प्रभावित नागरिकले यथाशीघ्र सामान्य र शान्तिपूर्ण जीवनमा फर्किन सकून् भन्ने अपेक्षा व्यक्त गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट