भरतपुर, १६ भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भरतपुर–१० स्थित अर्किड स्कुलका विद्यार्थीले खाजा खर्च जोगाएर ३० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेका छन् ।
विद्यालयको जुनियर रेडक्रस सर्कलको आह्वानमा विद्यार्थीले स्वस्फूर्त रूपमा रकम संकलन गरेका हुन् । संकलित रकम मंगलबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जुनियर रेडक्रस सर्कलकी अध्यक्ष अनामिका भण्डारीले जानकारी दिइन् ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखाका तटीय क्षेत्र प्रभावित भएका छन् । विपद्बाट प्रभावितको राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आह्वान गरेको छ ।
मानवीय सेवामा समर्पित जुनियर रेडक्रस सर्कलको पहलमा गरिएको सहयोगले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, सहयोग र सेवाभावको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीले आफ्नो व्यक्तिगत खाजा खर्चबाट रकम जोगाएर विपद्मा परेका नागरिकलाई सहयोग गर्नुले ‘सेवा नै धर्म हो’ भन्ने भावनालाई व्यवहारमै प्रस्तुत गरेको सर्कलको भनाइ छ ।





