चितवन, १२ भदौ ।
देशका विभिन्न जिल्लामा आएको भीषण बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै चितवन मेडिकल कलेज (सीएमसी) ले प्रभावित नागरिकको स्वास्थ्य उपचार तथा उद्धारमा आवश्यक सहयोग गर्ने जनाएको छ ।
कलेजले जारी गरेको प्रेस विज्ञप्तिमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्दै पीडितहरूको उपचारका लागि विशेष पहल थालिएको उल्लेख गरिएको छ ।
प्रभावित क्षेत्रमा आवश्यक परेमा स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा अन्य स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराइने कलेजले जनाएको छ ।
विज्ञप्तिअनुसार कलेजको आकस्मिक विभाग २४ सै घण्टा र सातै दिन विपद् प्रभावितहरूको उपचारका लागि खुला रहनेछ । आवश्यकताअनुसार चिकित्सक, नर्सिङ जनशक्ति, एम्बुलेन्स तथा औषधि–उपकरणसहितको आकस्मिक उद्धार टोली (Emergency Response Team) समेत तयारी अवस्थामा राखिएको छ ।
कलेजले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्थानीय प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय, सहकार्य र मानवीय सहयोगका लागि तत्पर रहेको जनाएको छ ।
चितवन मेडिकल कलेजले प्राकृतिक विपद्को यस कठिन घडीमा नागरिकको जीवनरक्षा र स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै आवश्यक सबै सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । साथै, आकस्मिक स्वास्थ्य सहयोग तथा विपद् व्यवस्थापनसम्बन्धी समन्वयका लागि प्रभावित नागरिक तथा सम्बन्धित सरकारी एवं गैरसरकारी निकायलाई कलेजसँग सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
आकस्मिक स्वास्थ्य सहयोग तथा विपद् व्यवस्थापनसम्बन्धी समन्वयका लागि सम्पर्क व्यक्ति प्रताप देवकोटा रहेका छन् । उनीसँग मोबाइल नम्बर ९८०२९५५३५५ मा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा विपद्को कठिन परिस्थितिमा सबै सरोकारवाला निकायबीच सहकार्य, समन्वय र मानवीय एकता आवश्यक रहेको समेत उल्लेख गरिएको छ ।




