काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली नदी प्रणालीअन्तर्गतका ४२ वटा पुलमध्ये ३६ वटा पुलमा क्षति पुगेको छ। उपलब्ध विवरणअनुसार रसुवादेखि चितवनसम्मका पुलहरू बाढीबाट प्रभावित भएका हुन्।
बाढीबाट प्रभावित ३६ पुलमध्ये अधिकांश बगाएका छन् भने केहीमा संरचनागत क्षति पुगेको छ। रसुवा, नुवाकोट र धादिङका पुलहरूमा बाढीको प्रभाव बढी देखिएको छ।
रसुवामा मात्रै १३ वटा पुल बाढीले बगाएको विवरण छ। रसुवागढीको मितेरी पुल, टिमुरेका दुई बेली ब्रिज, चिलिमेका दुई पुल, स्याफ्रुबेँसीको हाइड्रोपावर बेली ब्रिज तथा मुख्य पुल, हाकुका दुई बेली ब्रिज, माथिल्लो त्रिशूली हाइड्रोपावरको बेली ब्रिज, मैलुङको बेली ब्रिज र त्रिशूली–३ए बाँध नजिकका दुई पुल बाढीले बगाएको हो।
नुवाकोटमा १६ वटा पुल प्रभावित भएका छन्। खाल्टेस्थित भोटेकोशी नदी पुल, बेत्रावतीका पुरानो र नयाँ पुल, टुप्चेको त्रिशूली नदी पुल, त्रिशूली बजारका पुरानो र नयाँ पुल, सिमचौरको पुल तथा देवीघाट क्षेत्रका पुलहरूमा बाढीले क्षति पुर्याएको छ। खड्गभञ्ज्याङ–श्रीखाली सडक, बुद्धसिंहघाट, रातमाटे र केउरिनी–फोस्रेटारका पुल पनि बाढीबाट प्रभावित भएका छन्।
धादिङमा भने ९ वटा पुल प्रभावित भएका छन्। बैरेनी–स्यालटार सडकस्थित त्रिशूली नदी पुल, मस्तर, जरेबगैँचा, घाटबेँसी र फुर्के खोलाका पुल बाढीले बगाएको छ। कोल्पु खोलाका पुराना र नयाँ पुल तथा मस्तर क्षेत्रका संरचनामा भने क्षति पुगेको विवरण छ।
तर सूचीमा रहेका ६ वटा पुल भने बाढीबाट जोगिएका छन्। धादिङको भीमढुंगा–लामीडाँडा सडकस्थित त्रिशूली पुल, बेनीघाट र फिस्लिङका त्रिशूली नदी पुल तथा चितवनको चुम्लिङटारस्थित जलविद्युत् बेली ब्रिज, मुग्लिन आर्च ब्रिज र पुरानो पुलमा क्षति नपुगेको विवरणमा उल्लेख छ।
यसरी भोटेकोशीबाट सुरु भएको बाढीको प्रभाव त्रिशूली नदीको बहावसँगै तल्लो क्षेत्रमा समेत देखिएको छ। बाढीले पुलहरू बगाउँदा रसुवा, नुवाकोट र धादिङका विभिन्न सडक तथा बस्तीबीचको आवागमनमा प्रत्यक्ष असर परेको छ।



