प्रकृति प्रेमी
कलाकुञ्ज, चितवन
विषयप्रवेश
प्रत्यूष (२०८२) गजलकार सरस्वती पौडेलद्वारा लिखित गजल सङ्ग्रह हो । पर्वत जिल्ला बिहादी गाउँपालिका-२ मा आमा नन्दकला र बुबा पर्शुराम पौडेलको तेस्रो सन्तानको रुपमा उनको जन्म भएको हो । सानै उमेरदेखि साहित्यप्रति रुचि भएकि सरस्वतीले कक्षा ६ मा अध्ययन गर्दा विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रथम स्थान हाशिल गरेपछि साहित्यप्रति झुकाव बढ्दै गयो । उच्च शिक्षा अध्ययन गर्ने क्रममा बाबाको असामयिक निधनपछि दु:खको बज्रपातबाट माथि उठ्नका लागि उनले गरेका सङ्घर्षका दिनहरू, पलहरू साच्चिकै प्रेरणादायी छन्, अनुकरणीय छन् । बि.ए., बि.एड. र एम.ए. सम्म अध्ययन गरेकी उनी अध्यापन पेशामा आवद्ध छिन् भने एल.एल.बि. समेत गरिरहेकी छिन् । श्रीमान् काशिन्द्र राय, छोराछोरी आयाम र आर्याको सानो, सुखी परिवारका साथ भरतपुर महानगरपालिका -५ , चितवनमा उनको स्थायी बसोवास रहेको छ ।
प्रत्यूष गजल सङ्ग्रहभित्र गजलमञ्च चितवनका पूर्व अध्यक्ष एवम् समालोचक रमेश प्रभातको प्रकाशकीय लेख तथा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाको भूमिका रहेको छ ।
४ शेरदेखि ८ शेरसम्मको आयतनमा फैलिएका जम्मा ७६ वटा गजलहरू समावेश भएको प्रस्तुत सङ्ग्रहभित्रका गजलहरूले बोल्ने प्रयास गरेका विषयवस्तुहरूमाथि नजर डुलाउने प्रयास यो आलेखको प्रमुख उदेश्य हो ।
सरस्वती पौडेललाई मैले यसअघि चिनेको थिईनँ ,किनकि म कार्यक्रमहरूमा प्रत्यक्ष उपस्थित हुन थाल्नुअघि नै उनले घरायसी वातावरण मिलाउन,रोजीरोटीका लागि साहित्यबाट केही समय पर रहेकोे बुझियो ।
मुक्तक मञ्चको चितवनले आयोजना गरेको मुक्तक वाचन कार्यक्रममा सरस्वतीले मुक्तक वाचन गरेकी थिईन् र प्रथम भेट त्यहीँ भएको थियो ।
मैले पनि मुक्तक वाचन गर्दा उपहारस्वरूप उनकै प्रत्यूष गजलसङ्ग्रह समेत प्राप्त गरेको थिएँ । सङ्ग्रहका गजलहरू पढेँ, फेसबुकमा साथी बनियो, सङ्ग्रहका बारेमा केही लेख्ने हुटहुटी चल्यो र सुरु भयो अर्को यात्रा ।
आवद्धता, उपस्थिति
मुक्तक मञ्च चितवन, गजल मञ्च चितवन र नेपाली लेखक संघसँग आवद्ध सरस्वती चितवन महोत्सवको १५ औँ श्रृङखलामा भएको गजल प्रतियोगितामासमत तेस्रो स्थान हासिल गरेकी छिन् । साथै गजल प्रतियोगितामा गजल छनौट भई वाचनका लागि काठमाडौं, ललितपुर, भक्तपुर, हेटौंडा र पोखरामा पुगेको अनुभव उनीसँग छ ।
‘प्रत्यूष’ भित्र केके छन् ?
आफूले अगाध माया गरेको प्रेमीको हृदयमा मायाको बिज रोप्न नसक्नुको कारण उनले आफ्ना गजलमा यसरी व्यक्त गरेकी छिन्:-
तिमीलाई हो ढुङ्गाबाट मान्छे बनाउन नसकेको
सजिलो छ बरु ढुङ्गालाई मान्छेको आकार बनाउन
गजल १/ शेर २
हरेक कुराहरू समयमै प्राप्त भए त्यसको महत्त्व हुने हो नेपाली उखान छ नि ‘लगनपछिको पोतेको के काम’ भन्ने उखान त्यत्तिकै भनेको होइन सायद । एउटी सिन्दुर पुछिएकी महिलालाई कोशेलीको रुपमा श्रृङ्गारमा सामाग्री आउँदा र त्यसले राखूँ या फिर्ता गरुँ भन्ने दोधारे मनस्थितिको सिर्जना गरेको अभिव्यक्ति यो शेरमा पाउन सकिन्छ :
समालेर राखूँ या फिर्ता पठाईदिऊँ झोलाको कोशेली पनि
सिन्दुर पुछिएको भोलिपल्टै कोशेलीमा यो श्रृङ्गार आयो
गजल २/ शेर ५
बृहत्तर पौराणिक महाकाव्य ‘रामायण’ र ‘महाभारत’ का दुईवटा प्रमुख पात्रहरू छन् राम र अर्जुन । रामलाई मर्यादा पुरुषोत्तमका रुपमासमेत पुजिन्छ । उनी धर्मको पालनामा कटिबद्ध थिए । त्यस्तै अर्जुन जसले आफ्नो लक्ष्यमा मात्रै आफूलाई केन्द्रित गरिरहे । यिनै प्रसङ्गलाई मिथकको रुपमा प्रयोग गरेर उनिएको यो शेर सुन्दर छ, सन्देशमुलक छ :-
इतिहासमा मैले कुनै सुन्दर कथा भेटेकी छैन अरु
कहाँ हुन्छ र अर्जुनको दृष्टि अनि रामको लडाइँजस्तो
गजल ४/ शेर ७
संसारमा जन्मेपछि जोकोही मर्नुपर्छ समय ढिलोचाँडो होला फरक यत्ति हो । नाशवान शरिर लिएर पनि धनसम्पत्तिको घमण्ड गर्नेहरूलाई सावधान गर्दै मरेपछि लैजाने बगर कसको हो भनेर प्रश्न गर्छिन् :
खुट्टा टेकुञ्जेल सम्पत्तिको घमण्ड गर्नेहरूले
जवाफ दिनुस् ,’त्यो विश्राम लिने बगर कसको हो ?
गजल १९/ शेर ४
साहित्य अनुत्पादक क्षेत्र मानिन्छ । एकाध स्रष्टाहरूबाहेक प्रायः सबैले आफैँले लगानी गरेर कृति प्रकाशन गर्ने अनि उपहारस्वरूप बाँड्ने प्रचलन अझैसम्म कायम छ । कृति किनेर पढ्नुपर्छ भन्ने भावनाको विकास अझैसम्म भैसकेको छैन जनमानसमा । यसरी परिवारको गास र छोराछोरीको शिक्षादिक्षाको लागि छुट्याइएको रकमले कृति प्रकाशन गर्नबाट विमुख हुनसक्छन् । अझ पुरस्कार तथा सम्मान वितरणमा आफ्नालाई दिने चलनले ईमानदार एवम् राम्रा लेख्ने स्रष्टाहरूसमेत पलायन हुने अवस्थाको सिर्जना हुनसक्छ ।
स्वयम् गजलकार यस परिस्थितिलाई नजिकैबाट नियालिरहेको अनुभुति यो शेरले दिन्छ :
चलेन गुजारा भएन हराभरा गजल लेखर के गरौँ
बलेन चुल्हो कुना र कन्दरा गजल लेखेर के गरौँ
गजल २२/ शेर १
अझै पनि नेपालमा ठूलो जनसंख्या शिक्षा , स्वास्थ्यलगायत त परको कुरा आधारभुत गास , बास र कपासबाटसमेत वञ्चित छन् । गरीबी , बेरोजगारी , वञ्जर भुमिमा खेती नहुनु, खेत खोलाले बगाउनु, जस्ता धेरै कारणहरूले भोकलाई जित्न निकै सङ्घर्ष गर्नुपरिरहेको छ । यस्तै परिस्थितिलाई आफूले भोगेको अनुभव यसरी शेरमा पस्किन्छन् सरस्वतीले :
रित्तो भाँडोमा बिर्को लगाई कतिञ्जेल पर्खाईराखूँ
बच्चा रुन छोडेन पटक्कै भोक टलेको छैन
गजल ३०/ शेर४
असल आमाबाबुले आफ्ना सन्ततिको भविष्यका लागि अथक प्रयास गर्छन्, वर्तमानमा हरेक रहर र आवश्यकताहरू पूरा गर्न तल्लिन हुन्छन् । आफू असल सन्तान भएको हुँदा आमाबुबाविनाको घर स्वर्गजस्तो नलाग्ने, आँगन आँगन जस्तो नलाग्ने मनसाय उनको छ । उनको आमाबुबाप्रतिको श्रद्धाभाव यसरी बुझ्न सकिन्छ :
स्वर्गजस्तो घर त बाबाआमा हुँदा मात्रै हुने रहेछ
रित्तो भएपछिको घर आँगन आँगनजस्तो लाग्दैन
गजल ३१/ शेर ४
गजलकार स्वयम् एक सच्चा देशप्रेमी हुन् । उनी स्वदेशको माटोमा उम्रिएका ऐसेलु, काफल हराउन लागेकोप्रति चिन्तिन अवश्य छन् । त्यतिमात्र कहाँ हो र राष्ट्रिय पोशाक दौरा सुरुवाल , गुन्यु चोली हराएकोप्रति , लगाउन छोडिएकोप्रति झनै चिन्तित छिन् । हाम्रा पुर्खाहरूले खुँडा,खुकुरीको भरमा भोकतिर्खा नभनी लडेर, सङ्घर्ष गरेर जोगाईराखेको भूमिलाई विदेशी शक्तिले अतिक्रमण गर्दा, सिमा मिच्दा पैसाको चलखेल गरि देशकै सिमाना बेच्न खोज्ने केही भ्रष्ट नेतागणहरूसँग साँठगाँठ होला भन्दै खबरदारीसमेत गर्छिन् उनी । अझै मान्छेहरू सुविधाभोगी भएका छन्, हिँडेरै पुग्ने ठाउँमा मोटरसाइकल, कारमा यात्रा गर्छन् । धान कुट्न ढिकी होइन मिल, तेल पेल्न कोल छाडेर मिल, पिठो कुट्न घट्ट छाडेर मिल उफ ! उनी दिग्दार हुन्छिन् । पश्चिमाहरूको हावा लागेपछि स्वदेशी मौलिकताका सबै सबै हराएका विविध आयामहरू समेटिएको गैर मुसलसल गजलका तीन उत्कृष्ट शेरहरूले मन छुन्छन् :
ऐसेलु हराउला वनको काफल हराउला
नेपाली पोशाक बेच्ने त्यो पसल हराउला
सानो सङ्घर्षले पाएको होइन आज चुच्चे नक्सा
छिमेकीसँग खासखुस चल्ला क्षेत्रफल हराउला
पश्चिमाहरूको हावा लागिरहेको समाजमा
आफ्नै मौलिकताको ढिकी जाँतो खल हराउला
गजल ४२/ शेर १,३ र ४
देशको अस्थिर राजनीति, भ्रष्ट नेतागण, घुसखोरी कर्मचारीतन्त्र, प्राविधिक एवम् गुणस्तरीय शिक्षाको कमी, नयाँ उद्योगधन्दा स्थापना नहुनु, पुरानाहरू बन्द हुनुलगायत धेरै कारणहरू छन् युवाहरू विदेशिनुको । साहुको ऋण तिर्न, छोराछोरीलाई शिक्षादीक्षा दिन, घरपरिवार पाल्न, बाबुआमालाई सुख दिने सपना बोकेर परदेश गएकाहरू कतिपय लास बनेर काठको बाकसमा फर्किएर आउने गर्दछन् । यस्तो विषम परिस्थितिमा युवाहरू कहिलेसम्म लास बन्ने ? पराई मुलुकको दासी बन्ने ? यस्तै यस्तै समस्या उनले यसरी प्रस्तुत गर्छिन् :
बालकै हुँदा छोरा सपना टिप्न विदेशियो
आखिर फर्केको छ बाकसमा जवान बनेर
गजल ४३/ शेर ३
आँखाभरि सपनाको खातैखात लिएर
बिहानै छुटेको छ जहाज जवान लिएर
गजल ५५/ शेर १
प्रेयसीले आफ्नो प्रेमीसँग मीठा मीठा बात गर्न, नजरमा नजर जुझाएर कुरा गर्न, अधर चुम्न, छातीमाथि शिर राखेर निदाउन मनलागेको रहर उनले यसरी गरेकी छिन् :
नशालु ती चिम्रा नयन रसिला ती अधरहरू
झुक्याएर नजिकै आई चुम्दिन मनलाग्छ हजुर
सामीप्यको यो कल्पनामा कयौं रात बिताएर
तिम्रो छातीमाथि अब पल्टिन मनलाग्छ हजुर
गजल ४८/ शेर ३ र ५
केही दिन अघि मात्रै ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भयो । निर्मला पन्त, भागिरथी, युनिशा विश्वकर्मजस्ता सयौं हजारौं नाबालिकाहरू वर्षेनि बलात्कारको सिकार हुने र मारिने गर्दछन् । सम्भवतः अपराधीलाई कडा सजाय नहुनु, प्रहरी प्रशासन र अदालतनै पिडक पक्षसँग मिलेर मुद्दा कमजोर बनाईनु,मुद्दा फिर्ता लिन बाध्य गराईनु, प्रहरी असली अपराधीसम्मै नपुग्नु जस्ता अनेक कारणहरू छन् जसबाट पिडित पक्षले न्याय पाउन सकिरहेका छैनन् । अवोध छोरीको चीत्कार सुन्ने कसले ? यसले एउटा गम्भीर प्रश्न उठान गरेका दुई शेरहरू यस्ता छन् :
छोरीको च्यात्तिएको फ्रक लिएर कहाँ कहाँ जानू आमा
यहाँ यो चीत्कार सुन्ने न अदालत हुन्छ न कार्यालय हुन्छ
गजल ४१/ शेर ५
हावामै अझै होलान् कलिला ती सपनाहरू
निर्मला र भागिरथीको चिच्याई बुझ्दै छु
गजल ६२/ शेर ४
कहिलेकाहीँ दु:ख, पीडा, समस्या, अभाव, विछोड, तनाव के गरीबको जिन्दगीमा मात्रै आउँछ ? भन्ने प्रश्नले पिरोलीरहन्छ । बाढीपहिरो जस्ता प्रकोपले झुपडी मात्रै बगाउँछ, भूकम्पले निमुखाको वास मात्रै उठाउँछ ? यस्तै प्रश्नले सायद गजलकारको मनमा पनि डेरा जमाएको पो हो कि ? :
मेरै छोराको प्रश्नले अल्मलाउँछ कहिलेकाहीँ मलाई नै
सोध्छ ,” हाम्रै घरमा मात्रै किन बाढीपहिरो र भुँइचालो आउँछ ?”
गजल ६३/ शेर ५
गजलकार पौडेलले आफ्ना कतिपय गजलका प्रत्येक शेरमा भिन्नाभिन्नै विषयवस्तुको उठान गर्न मन पराउँछिन्, जसलाई गजलको भाषामा गैर मुसलसल गजल भनिन्छ । यस्तो परम्पराले पाठक, भावकहरूलाई एउटै गजलमा फरकफरक स्वाद चाख्ने अवसर प्राप्त हुन्छ । यस्तै एउटा गजलको केही शेरहरू नमुनाका रुपमा यस्ता छन् :-
म कसरी भनौं तिमीलाई सम्झेको छैन
छामेर हेर न त यो शिरानी थाहा हुन्छ
पाखुरामा बल छउञ्जेल हुन्छन् सबै आफ्ना
उमेर ढल्केपछि बल्ल जवानी थाहा हुन्छ
नागरिकता बोकेर पनि रित्तै पेट बस्नुपर्दा
कति ठूलो बन्छ यो राहदानी थाहा हुन्छ
गजल ६७/ शेर २,३ र ४
बहर प्रयास
सरस्वती बहरमा गजल लेख्न रहर लागेको कुरा व्यक्त गर्छिन् । तर रहरले मात्रै पनि त बहरमा लेखिँदैन नि । बहरसम्बन्धी अध्ययन र लेख्ने रुचि पनि हुनुपर्छ । उनले ७६ वटा गजलमा एउटा गजल बहर-ए-मुतकारिब मुसम्मन सालिममा लेखेकी छिन् । मकताको मिसरा ए उलामा बहर भङ्ग भएको छ (‘न बसेँ’ होइन ‘न बस्थेँ’ हुनुपर्ने थियो) तर उनको प्रयासलाई म नमन गर्दछु । उनले अध्ययनको क्षेत्रलाई बढाउँदै लगे बहरमा पनि गजल लेख्नसक्ने हैसियत राख्छिन् भन्ने विश्वास लिन गर्न सकिन्छ । एक नमुना शेर:-
बसेको छु सालिक ठडिएर आज/
र माया छ बाँकी निसानी अझै नि/
गजल ५०/ शेर ३
फऊलुन् ×४
१२२×४
अहिलेको व्यस्त समाज, दौडधुपपूर्ण दैनिकी तथा तेस्रो मुलुक अमेरिका, अष्ट्रेलिया जस्ता देश पलायनको बढ्दो क्रम । यसले आफ्ना आमाबाबु स्याहारेर बस्न कोही रुचाउँदैनन् । बुढा आमाबुबा आफ्नो देश छाडेर विरानो मुलुकमा गएर बस्न पनि चाहदैनन् । यस्तोमा आफ्नो आमाबाबुलाई वृद्धाश्रम छाड्नुको विकल्प रहदैन । यस्ता घटनाहरू एक होइन, दुई होइन हजारौं हजार देखेकि सरस्वतीको कोमल मातृ हृदयले यस्तो शेर लेख्न झक्झकाउँछ:
छोराले पनि आश्रममा छोडेर गयो /
जिन्दगी सकेँ छोरो जवान बनाउन /
गजल ५८/ शेर २
आफ्नो हक अधिकार शान्तिपूर्ण तवरले सम्बोधन हुन नसकेपछि, प्राप्त नभएपछि कमल छाडेर खुकुरी समाउन बाध्य एक प्रतिनिधि भूँइमान्छेको कथा बोलेको यो शेर हेरौं :-
वस्तीमा एउटा खबर आएको छ
कलम बोक्नेले खुकुरी समाएको छ
गजल ७४/ शेर २
तखल्लुस:-
`प्रत्यूष’ भित्र समेटिएका ७६ वटा गजलमा एउटा पनि तखल्लुसको प्रयोग गरेकी छैनन् सायद तखल्लुस प्रयोगमा गजलकारको खासै रुचि नभएकोले होला ।
काफिया प्रयोगमा सचेतता:-
सरस्वतीले आफ्ना गजलका शेरहरूमा काफिया प्रयोगप्रति निकै सजगता अपनाएकी छिन् । गजल नम्बर ७ मा आञ्चलिक शब्द सजात=दाजुभाइ, कात=किनारको प्रयोग पनि भएको छ । यसरी हेर्दा उनलाई एक राम्रो गजल लेख्ने हैसियत भएकी गजलकारको रुपमा लिन सक्ने आधारहरू प्रशस्त छन् ।
विषयवस्तुमा विविधता
सरस्वतीले आफ्ना गजलका शेरहरूमार्फत् प्रेमप्रणय, देश दुखेको स्वर, जिन्दगीका आरोह अवरोह, समाज, सामाजिक समस्या, समयको स्वर, विद्रोहको आवाज बोल्दै चेतनाको दियो बाल्ने प्रयास गरेकी छिन् । उनको यो सत्प्रयासलाई हृदयत: सलाम टक्र्याउन चाहेँ ।
अन्त्यमा,
गजलपथमा हामी यात्रीहरू, बाटो फरक होला तर गन्तव्य एउटै हो । सरस्वती पौडेलको पहिलो कृति, गजल सङ्ग्रह ‘प्रत्यूष’ एउटा सङ्ग्रहणीय, पठनीय कृतिका रुपमा आएकोे छ । उनलाई फेरि पनि बधाई । ढिलो आओस्, राम्रो आओस् भन्ने मेरो धारणा हो कमसल कृति प्रकाशनले लेखक र पाठक दुबैको पैसा र समय वर्वाद पार्छ । सचेत लेखकले यसलाई बुझेर लेख्ने र कृति प्रकाशन गर्नुपर्ने हुन्छ ।
जाँदाजाँदै:-
सरस्वती पौडेलको व्यक्तिगत जिन्दगीमा खुशी छाईरहोस्, पारिवारिक मेलमिलापको अवस्था कायम रहिरहोस् , साहित्यिक एवम् सामाजिक उन्नयनको कामनासमेत गर्दछु ।
आँसुले लेखिएका केही शेरहरू राख्दै यो आलेख समापन गर्ने अनुमति चाहेँ :
आखिर भाग्य नै चट्याङ परेको पाएपछि/
हृदय भासिन्छ परेलीहरू आँशुले डुवाईदिन्छ/
गजल १० / शेर २
मुटुभरि भा’को घाउको खत बन्यो उस्तै
आँखाबाट आँशु झर्ने आदत बन्यो उस्तै
गजल १८/ शेर १
छुट्न त हाम्रो सम्बन्ध पनि इजलासमा छुटेको हो
तर अझै शिरानीमा आँसुले भिजेको ईजाजत छ
गजल ४७/ शेर ४
श्रीमान् दिल जलेको प्रमाण कसरी पेश गरौँ ?
छामेर हेर्नुहोस् नभिजेको कुनै सिरानी हुँदैन ।।
गजल ७०/ शेर ३
मिति:-२०८३ भदौ ११
ॐ सर्वे भवन्तु सुखिन ॐ




