ललितपुर, ६ भदौ ।
नेपाल स्क्वास र्याकेट संघको आयोजनामा ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६’ शनिबारदेखि ललितपुरको सातदोबाटोस्थित नेपाल स्क्वास तथा र्याकेट संघको स्क्वास कोर्टमा सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा सुरु भएको प्रतियोगिता भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । संघका अध्यक्ष ध्रुवबहादुर गुरुङको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा सांसद रेग्मीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिँदै सरकारी प्रक्रियाका कारण प्रशिक्षक नियुक्त हुन नसकेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए । उनले यसै साता प्रशिक्षक नियुक्तिसम्बन्धी समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए ।
संघका अध्यक्ष गुरुङले स्क्वास खेलको पहुँच देशभर विस्तार गर्न प्रदेशस्तरमा स्क्वास कोर्ट निर्माण गर्ने योजना अघि बढाइएको बताए । स्क्वासको पूर्वाधार विस्तारसँगै युवालाई यस खेलतर्फ आकर्षित गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य संघले लिएको उनको भनाइ छ ।
प्रतियोगिताको उद्घाटन सत्रअन्तर्गत नेपालका दीपक थापाले बंगलादेशका बरुआ दुर्जयलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरे । दीपकले पहिलो सेट ११–७, तेस्रो सेट ११–४ र चौथो सेट ११–४ ले जित्दा दोस्रो सेट बरुआले ११–९ ले जितेका थिए ।
त्यस्तै, मलेसियाका अबिनाश अनबसुले नेपालका सरोज लामालाई ३–० तथा श्रीलंकाका नेभिन्दु लक्मनले इटालीका रेन्जो एन्डोर्नोलाई ३–० को सोझो सेटमा पराजित गरे ।
साँझको खेलमा श्रीलंकाका वाकिल शमिलले नेपालका राकेश परियारलाई ३–०, नेपालका अर्हन्त केशर सिंहले बंगलादेशका अब्दुल सायेमलाई ३–०, मलेसियाका नितीश मणिमरणले नेपालका पासाङ भ्लोनलाई ३–० तथा बंगलादेशका हसन आबिदले भारतका अनमय रुंगटालाई ३–१ ले पराजित गरे । यस्तै, युनाइटेड किङ्डम (युके) का इओन शार्पले नेपालका नैना बहादुर मगरलाई ३–० ले हराए ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, मलेसिया र युनाइटेड किङ्डमका १६ खेलाडी सहभागी छन् । प्रतियोगिताको ड्र साइज ८, १६ र ३२ खेलाडीको हुने भए पनि यसपटक १६ खेलाडीलाई ड्रमा सहभागी गराइएको छ ।
भदौ ९ गतेसम्म चल्ने प्रतियोगिताका खेल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ । च्याम्पियनले ४००, उपविजेताले २००, सेमिफाइनलमा पुग्ने प्रत्येक खेलाडीले १०० र क्वार्टरफाइनलमा पुग्ने प्रत्येक खेलाडीले ५० अमेरिकी डलर पुरस्कार पाउनेछन् । विजेतालाई ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।





