भरतपुर, ६ भदौ ।
सल्लेरी टोल विकास संस्थाको २२औँ साधारणसभा तथा नवौँ अधिवेशनले संजय अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनले दुईवर्षे कार्यकालका लागि अध्यक्षसहित अधिकांश पदमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचन समिति संयोजक विमलकुमार क्षेत्रीका अनुसार सचिवमा प्रदीप सुवेदी, कोषाध्यक्षमा चन्द्रकान्त आचार्य, सहसचिवमा बुद्धिप्रसाद भट्टराई तथा सदस्यमा सरस्वती कुँवर, सुरेश भट्टराई, जानुका कुँवर, मुना भण्डारी र कुमारी क्षेत्री निर्वाचित भएका छन् ।
उपाध्यक्ष पदमा भने निर्वाचन भएको थियो । २२९ जना टोल सदस्य रहेकामा १७० मत खसेकोमा ८६ मत प्राप्त गर्दै रेखा भट्टराई उपाध्यक्षमा निर्वाचित भएकी छन् । १३ सदस्यीय कार्यसमितिमा बाँकी तीन सदस्य नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्नेछ ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले टोलको विकास, सरसफाइ तथा स्थानीयवासीको क्षमता अभिवृद्धिलाई आफ्नो कार्यकालको प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
साधारणसभा टोल विकास संस्थाका अध्यक्ष उद्धवकुमार श्रेष्ठको अध्यक्षता तथा भरतपुर महानगरपालिका–११ का वडासचिव ओमप्रकाश न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको सचिव रत्नकुमार श्रेष्ठले जानकारी दिए ।





