२६ वर्षपछि हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु

मकवानपुर, ६ भदौ ।
झन्डै २६ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु गरिएको छ । नेपाल सरकारको पहलमा नेपाली सेनाले लामो समयदेखि बिग्रिएर थन्किएका मेसिन मर्मत गरी सञ्चालनमा ल्याएपछि २० वटा लुम (कपडा बुन्ने तान) बाट परीक्षण उत्पादन सुरु गरिएको हो ।

नेपाली सेनाको प्राविधिक टोलीले उद्योगमा बिग्रिएर थन्किएका मेसिन मर्मत गरेपछि उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढेको हो । शनिबार उद्योगको निरीक्षण गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको उद्योग सञ्चालनका लागि सरकारले अघि बढाएको काम देखिन थालेको बताइन् ।

‘सरकारले स्टन्टबाजी गरिरहेको भनेर चर्चा छ । अवस्था त्यस्तो होइन, मेसिन मर्मत गरेर परीक्षण उत्पादन सुरु भइसकेको छ,’ उनले भनिन्, ‘अबको केही महिनाभित्र सबै लुम सञ्चालनमा ल्याएर कपडा उत्पादन गर्छौँ ।’

सरकारी उद्योग सञ्चालनमा आउन थालेपछि केही निजी उद्योगीहरूले रोक्न विभिन्न तत्त्व प्रयोग गरिरहेको दाबी गर्दै मन्त्री यादवले सरकार आफ्नो निर्णयबाट पछि नहट्ने बताइन् ।

हाल उद्योगमा २० वटा लुम सञ्चालनमा ल्याएर कपडा उत्पादनको परीक्षण भइरहेको छ। सरकारले क्रमशः सबै लुम सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । ‘उद्योगमा रहेका कुल ४८८ वटै मेसिन क्रमशः सञ्चालनमा ल्याइनेछ। नेपाली सेनाले यसको व्यवस्थापन र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ,’ मन्त्री यादवले भनिन् ।

सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढाइएको हो । उद्योगमा सरसफाइ, विद्युत् प्रणाली तथा मेसिन मर्मतको काम नेपाली सेनाले गरेको छ । परीक्षणका लागि सरकारले ३३ लाख रुपैयाँ बजेटसमेत उपलब्ध गराएको छ । हाल बाहिरबाट धागो ल्याएर पुराना लुममार्फत कपडा बुन्ने परीक्षण भइरहेको छ ।

परीक्षणबाट प्राप्त नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा कसरी सञ्चालन गर्ने भन्ने मोडालिटी तय गरिनेछ । त्यसपछि आवश्यक नयाँ मेसिन तथा प्रविधि थप गरी उत्पादन विस्तार गर्ने सरकारको तयारी छ ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ कपास नेपालकै विभिन्न स्थानबाट सङ्कलन गर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने मन्त्री यादवले बताइन् । ‘हाम्रो राम्रो कामलाई रोक्न कतिपय तत्त्व र व्यापारीहरू सक्रिय हुन सक्छन्। त्यसैले अब स्वदेशी उद्योग जोगाउन जनताको साथ चाहिन्छ,’ उनले भनिन् ।

सरकारले उद्योगको मर्मत, पुनःस्थापना र सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएपछि उद्योग पुनर्जीवनको प्रक्रियाले गति लिएको हो। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन् ।

यसअघि उद्योग सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले तत्काल परीक्षण उत्पादन गर्ने र त्यसको परिणामका आधारमा दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने खाका सरकारलाई बुझाएको थियो ।

यसअघि गत साउन २३ गते उद्योगमा पुराना मेसिन मर्मत गरी सफल परीक्षण उत्पादन सुरु गरिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खट्खट्’ आवाज सुनिन थालेको परियारले तान चलेको भिडियोसहित उल्लेख गरेका थिए ।

चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। उद्योग २०५७ सालदेखि बन्द अवस्थामा छ ।

२०६२/०६३ को जनआन्दोलनपछि बनेका विभिन्न सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि पटक–पटक पहल गरेका थिए । अधिकांश प्रयास घोषणा, अध्ययन, समिति गठन तथा केही बजेट विनियोजन गरी पुराना मेसिन मर्मत र परीक्षणमै सीमित भए पनि उद्योग व्यावसायिक रूपमा सञ्चालनमा आउन सकेको थिएन । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले पुनः सक्रियता देखाउँदै उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन अघि बढाएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट