न्यु क्यापिटल स्रष्टा सम्मानबाट डल्लाकोटी सम्मानित

चितवन, ३० साउन ।
पूर्वी चितवनमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको न्यु क्यापिटल कलेजले साहित्यकार गिरिराज डल्लाकोटीलाई ‘न्यु क्यापिटल स्रष्टा सम्मान–२०८३’ प्रदान गरेको छ ।

कलेजको सभाहलमा शनिबार आयोजित ‘न्यु क्यापिटल स्रष्टा सम्मान तथा रचना वाचन’ कार्यक्रममा डल्लाकोटीलाई नगद २५ हजार १ रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो । डल्लाकोटी र उहाँकी धर्मपत्नी बिना पाठक डल्लाकोटीलाई संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मानपत्र तथा नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।

कलेजका प्राचार्य भूपेन्द्र धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार केशवराज आमोदीले डल्लाकोटीको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।

धादिङको बेनीघाटमा जन्मिनुभएका डल्लाकोटी हाल राप्ती नगरपालिका–६, हर्दी, चितवनमा बसोबास गर्दै आउनुभएको छ । जनआदर्श बहुमुखी क्याम्पस र बुद्धशान्ति बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डल्लाकोटी हाल सेवानिवृत्त जीवन बिताइरहनुभएको छ । उहाँ राप्ती साहित्य समाज चितवन र कोपिला साहित्य समाज काठमाडौंका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

‘कोपिला’ र ‘गीतिका’ काव्यप्रविधाका प्रवर्तक डल्लाकोटीका ‘गजल सुधा’ (२०७५), ‘गुम्फन’ (२०८१) र ‘गुञ्जिका’ (२०८२) कृति प्रकाशित छन् भने ‘गवेषण’ लघुकथा सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ ।

कलेजले हरेक वर्ष प्रदान गर्दै आएको ‘न्यु क्यापिटल स्रष्टा सम्मान’ यसअघि वरिष्ठ साहित्यकार रामबाबु घिमिरे, गणेश शर्मा पौडेल चन्दन र विश्वनाथ खनाललाई प्रदान गरिसकेको छ ।

यसै वर्षदेखि कलेजमा अध्यापनरत तथा साहित्यिक कृति प्रकाशन गरेका शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले अर्को सम्मानसमेत सुरु गरिएको छ । प्राचार्य भूपेन्द्र धितालको परिकल्पनामा सुरु गरिएको उक्त सम्मानका लागि अध्यापक दुर्गा घिमिरे, नरेन्द्र पौडेल र विष्णु पौडेलमध्ये गोलाप्रथाबाट दुर्गा घिमिरे छनोट हुनुभएको थियो । उहाँलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको कार्यक्रम सञ्चालक तथा नेपाली विषयका अध्यापक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख तथा कार्यक्रम संयोजक डा. ताराप्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा कालिका संस्कृत विद्यापीठका प्राचार्य डा. केशवराज चालिसे प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार रामबाबु घिमिरे, सम्मानित स्रष्टा विश्वनाथ खनाल, कालिका प्याब्सन अध्यक्ष नवीन थापा, चितवन प्याब्सन उपाध्यक्ष कृष्ण भट्ट, पठन संस्कृतिका अभियन्ता उदय अधिकारी तथा साहित्यकार चेतराज रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समारोहमा साहित्यकार तिलकराज शर्मा, रामशरण थपलिया, गीता लामिछाने, चिरञ्जीवी दाहाल, मणिराम नेपाल, धनराज गिरी, तुलसी पण्डित, करुणा उदासी कृष्ण, यमुना न्यौपाने र राजेन्द्र घायलले रचना वाचन गर्नुभएको थियो । त्यसैगरी कलेजका अध्यापक नरेन्द्र पौडेल तथा विद्यार्थीहरू विपिन भुजेल, अनमोल पन्त, पुष्पा सहकारी, सपना बिक, दिप्सना बर्तौला र सक्षम अर्यालले समेत आ–आफ्ना साहित्यिक रचना प्रस्तुत गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट