चितवन, ३० साउन ।
रक्तदान अभियानलाई थप व्यवस्थित, प्रभावकारी र पहुँचयोग्य बनाउने उद्देश्यले ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’ गठनका लागि तदर्थ समिति गठन गरिएको छ ।
संयोजक राजेन्द्रप्रसाद पौडेलको अध्यक्षता तथा भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्त (हरि) को प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भेलाले पौडेलको अध्यक्षतामा तदर्थ समिति सर्वसम्मत गठन गरेको हो ।
समितिको उपाध्यक्षमा मनु गौडेल र नवराज तिमिल्सिना, सचिवमा सन्देश अधिकारी, सहसचिवमा भुवन पाठक तथा कोषाध्यक्षमा कमला पौडेल चयन हुनुभएको छ । सदस्यहरूमा दीपक घिमिरे, नारायणप्रसाद आचार्य (डोलराज), सुरज अधिकारी, वीरबहादुर मोक्तान र सृजना लामिछाने रहनुभएको छ ।
संस्थाको विधान तयार गर्न अधिवक्ता पूर्णचन्द्र चापागाईंको संयोजकत्वमा अर्जुन अधिकारी र विपिन पाठक सदस्य रहेको विधान मस्यौदा निर्माण समितिसमेत गठन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष पन्तले रक्तदानजस्तो पवित्र सामाजिक कार्यमा संस्थागत पहलको प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नवनिर्वाचित अध्यक्ष पौडेलले चितवनमा रगतको सहज उपलब्धता सुनिश्चित गर्न तथा रक्तदातालाई प्रोत्साहित गर्न संस्था निरन्तर सक्रिय रहने बताउनुभयो ।





