मकवानपुर, २९ साउन ।
बागमती प्रदेशसभा बैठक भदौ १ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडाले शुक्रबार सूचना जारी गर्दै प्रदेशसभाको बैठक भदौ १ गतेका लागि आह्वान गरेको हो ।
४३ दिन पछि भदौ १ गते दिउँसो १ बजेकाे लागि आव्हान गरिएकाे बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको सूचनामा उल्लेख छ ।
प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको सत्रौं बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव रामकुमार पौडेलले जानकारी दिए । नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री बानियाँले विश्वासको मतको प्रस्ताव पेस गर्न लागेका हुन् ।
सचिव पौडेलद्वारा जारी सूचना अनुसार मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल गर्न प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठकको मिति र समय निर्धारण गरिएकाे हाे ।
यसअघि गत असार २० मा प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट पारित गर्ने प्रयोजनका लागि बसेकाे प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियाे ।





