चितवन, २६ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर RAT विभागको आयोजनामा मंगलबार माडीमा युवा केन्द्रित कार्यक्रम तथा ‘युवा संवाद’ सम्पन्न भएको छ ।
‘सरसफाइबाट सुरुवात, सम्बन्धबाट समाधान’ भन्ने नारासहित आयोजित कार्यक्रममा माडी क्षेत्रका युवाले स्थानीयदेखि राष्ट्रियस्तरसम्मका विभिन्न समस्या तथा समाधानका उपायबारे छलफल गरेका थिए ।
माडी नगर RAT विभाग संयोजक अच्युत कार्कीको सभापतित्व तथा रास्वपा माडी नगर सभापति नारायणदत्त रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चितवन जिल्ला Gen Z संयोजक आशिष सापकोटा र Gen Z माडी नगर संयोजक भरत ढकाल विशेष अतिथिका रूपमा सहभागी थिए ।
युवा संवादका क्रममा हनुमानझुलामा खानेपानी तथा विद्युत् विस्तार, युवामा बढ्दो लागूऔषध दुर्व्यसन, युवा विदेश पलायन, अनुसन्धानको कमी, मानसिक स्वास्थ्य, कृषि क्षेत्रमा देखिएका समस्या, कालोबजारी तथा मानव–वन्यजन्तु द्वन्द्वलगायत विषय उठाइएको थियो ।
विशेषगरी ध्रुवे हात्तीलगायत वन्यजन्तुका कारण माडीवासीले भोग्नुपरेको धनजनको क्षति तथा निकुञ्जपीडितका समस्या समाधानका लागि प्रभावकारी पहल गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए । त्यस्तै, दानाको मूल्य बढे पनि किसानले दूधको उचित मूल्य नपाएको र गुणस्तरीय बीउबिजनको अभाव रहेको विषयसमेत उठाइएको थियो ।
युवा संवादबाट प्राप्त समस्या तथा सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी नीतिगत समाधानका लागि सम्बन्धित निकाय तथा मन्त्रीसमक्ष पहल गर्ने प्रतिबद्धता आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने छ जना युवालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सफल युवा व्यवसायी रामचन्द्र लम्साल, कृषि व्यवसायी कृष्ण पौडेल, माछापालन कृषक तथा युवा व्यवसायी रोशन पौडेल र गोपालबहादुर नेपाल, फुटबल खेलप्रेमी तथा प्रशिक्षक नवीन बस्याल तथा शटपुट र डिस्कस थ्रोका खेलाडी ललित राउत रहेका छन् ।
कार्यक्रममा वडा समितिको तर्फबाट हरि रनभाट, निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद भुसाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । RAT विभागका सह-संयोजक अनुप आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम विभागका सचिव तथा Gen Z युवा आर्यन थापाले सञ्चालन गरेका थिए ।





