गैंडाकोट, २४ साउन ।
गैंडाकोट–२, नवलपुरमा रहेको गैंडाकोट इङ्लिस स्कुलले आफ्नो विद्यालय गीत तयार पारेको छ । गीतको म्युजिक भिडियोसमेत निर्माण भइरहेको विद्यालयले जनाएको छ ।
‘हाम्रो गैंडाकोट इङ्लिस स्कुल’ बोलको गीतको छायांकन विद्यालय परिसरमै गरिएको छ । म्युजिक भिडियोमा विद्यालयका शैक्षिक, अतिरिक्त तथा विविध गतिविधिलाई समेटिएको छ । भिडियोमा विद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारीको समेत अभिनय रहेको छ ।
गीतमा रामचन्द्र काफ्ले र समीक्षा अधिकारीको स्वर, अर्जुन पोखरेलको संगीत तथा लक्ष्मण भण्डारीको शब्द रहेको छ । म्युजिक भिडियोको निर्देशन सुमित लामाले गरेका छन् भने छायांकन सञ्जय कुमालले गरेका हुन् ।
वि.सं. २०६२ सालमा स्थापना भएको गैंडाकोट इङ्लिस स्कुल अंग्रेजी माध्यममा सञ्चालित बालमैत्री तथा वातावरणमैत्री विद्यालय हो । मौलाकालिका डाँडाको फेदी र नारायणी नदीको किनारमा अवस्थित विद्यालयले पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आएको छ ।
विद्यालयले समयसापेक्ष शिक्षा तथा परियोजनामा आधारित शिक्षण सिकाइमा जोड दिँदै आएको जनाएको छ । सहकार्य, सञ्चार, सिर्जना, समालोचनात्मक चिन्तन तथा समस्या समाधानलाई शिक्षण सिकाइको प्रमुख आधार बनाइएको विद्यालयको भनाइ छ ।
विद्यालयले सन् २०१६ र २०२० मा अन्तर्राष्ट्रिय विद्यालय पुरस्कारसमेत प्राप्त गरेको जनाएको छ । जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा आफूलाई स्थापित गर्दै आएको विद्यालयले शैक्षिक गुणस्तरमा ए ग्रेडको पहिचान बनाएको छ ।
विद्यार्थीलाई उत्तरदायी विश्व नागरिक बनाउँदै असल मानवका रूपमा विकास गर्नु विद्यालयको दूरदृष्टि रहेको छ भने विद्यार्थीमा रहेको अन्तर्निहित क्षमतालाई पूर्णरूपमा प्रस्फुटन गर्न सहयोग गर्नु ध्येय रहेको प्रिन्सिपल हिरालाल अर्यालले जानकारी दिनुभयो ।




