चितवन, २४ साउन ।
धर्म तथा सनातन संस्कृतिको संरक्षण र प्रवर्धनमा सक्रिय रत्ननगरका युवाहरूको समूह ‘भक्ति भजन समूह’ले श्रावण सोमबारको अवसरमा विशेष भजन–कीर्तन कार्यक्रम सम्पन्न गरेको छ ।
रत्ननगर नगरपालिका–१०, बैरियास्थित शिवालय मन्दिर परिसरमा आयोजित कार्यक्रममा साँझ ५ बजेदेखि करिब दुई घण्टासम्म भजन–कीर्तन प्रस्तुत गरिएको थियो । मन्दिर दर्शनका लागि पुगेका श्रद्धालु भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा युवाहरूले आफ्नै मौलिक लोकशैलीमा भजन प्रस्तुत गरेका थिए ।
निरन्तरको अभ्यास र लगनशीलताका कारण समूहको प्रस्तुति दिनानुदिन निखारिँदै गएको स्थानीयको भनाइ छ । मौलिक लोकभजनमार्फत युवा पुस्तालाई धर्म, संस्कृति र परम्परासँग जोड्ने प्रयासले समूहले स्थानीयस्तरमा छुट्टै पहिचान बनाउँदै गएको बताइएको छ ।
युवाहरूको यस्तो सक्रियताले सनातन संस्कृति संरक्षणसँगै स्थानीयस्तरमा सांस्कृतिक जागरण र सकारात्मक सन्देश प्रवाह गर्न योगदान पुर्याएको भक्तजन तथा स्थानीय बुद्धिजीवीहरूले बताएका छन् ।





