चितवन । आरम्भ कलेज, भरतपुरले विद्यार्थीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘आरम्भ स्टुडेन्ट्स एक्सलेन्स समिट’ सम्पन्न भएको छ ।
शनिबार मौलाकालिस्थित इला रिसोर्टमा सम्पन्न कार्यक्रममा वित्तीय साक्षरता, व्यवस्थापन तथा योजना, स्टार्टअप तथा उद्यमशीलताको मनोविज्ञान, रणनीतिक व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि र सार्वजनिक रूपमा बोल्ने कलालगायत विषयमा विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।
कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार कार्यक्रममा विद्यार्थीले विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै नेतृत्व, नवप्रवर्तन र व्यावसायिक विकाससम्बन्धी ज्ञान तथा अनुभव हासिल गरेका थिए ।
समिटमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) चितवन च्याप्टरकी उपाध्यक्ष सन्ध्या कँडेल, एफसीए निसान पौडेल र सञ्चारकर्मी मनोज पन्तले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै नवप्रवर्तनशील सोच विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको प्रिन्सिपल शिवाकोटीले बताए । कार्यक्रममा सहभागी विद्यार्थीलाई सहभागिता प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।





