काठमाडौं, २२ साउन ।
पञ्चायती व्यवस्थाविरूद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको भित्री कथा के थियो ? त्यसमा संलग्न भएर भारतमा भूमिगत बसेका राजनीतिकर्मीहरुको जीवन कस्तो हुन्थ्यो ? हतियार उठाउँदा–उठाउँदै बीपीले किन राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किने निर्णय लिए ? त्यसमा बंगलादेशको उदय र सिक्किमको विलयको घटनाले के–कस्तो प्रभाव पारेको थियो ?
बीपीले मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्कनुअघि, सुरूमा आफ्ना तीनजना विश्वासपात्रलाई नेपाल पठाएका थिए । तीमध्ये एक हुन्— इलामका धर्म गौतम ।
गौतमले आफ्नो राजनीतिक एवं व्यक्तिगत संस्मरणलाई समेटेर लेखेको रोचक पुस्तक प्रकाशनमा आएको छ, जसमा नेपाली राजनीतिका थुप्रै अनुद्घाटित प्रसंगहरु छन् । ‘बीपी र विद्रोहका ती दिन’ शीर्षकको यो किताब एक व्यक्तिको जीवनकथा मात्र होइन, यसले मुलुकको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण कालखण्डलाई समेटेको छ ।
‘मेरो इलामबाट सुरु भएको राजनीतिक यात्रा कसरी भारतको नक्सलबारी, बनारस, बिहार हुँदै काठमाडौंसम्म तन्केको थियो ? त्यस क्रममा देखे–भोगेका घट्नाहरु के थिए ? मैले यो किताबमा यिनै बिषयलाई फर्केर हेर्न खोजेको छु,’ लेखक गौतमले बताए ।
उनले वि.सं. २०२९ सालमा भारत निर्वासनमा गएदेखि नै बीपी कोइरालाको सान्निध्य पाएका थिए । बीपीले पञ्चायती व्यवस्थाको अन्त्यका लागि आह्वान गरेको सशस्त्र संघर्षमा सामेल भएका थिए । त्यसै क्रममा भारतको पूर्णियामा हातहतियारसहित पक्राउ परेका थिए । र, बीपीकै निर्देशनमा २०३३ कात्तिकमास्वदेश फर्कने क्रममा पक्राउ परेर करिब चार वर्ष बन्दी जीवन बिताएका थिए ।
‘बीपी र विद्रोहका ती दिन’ किताब पब्लिशर्सले प्रकाशन गरेको हो । यसमा तपाईंले नेपाली राजनीतिबाहेक गौतमको जीवनका अन्य थुप्रै आयामहरु पनि पढ्न पाउनु हुन्छ ।





