पूर्वविद्यार्थी सुवेदीको सौजन्यमा रत्नराज्य लक्ष्मी माविमा पत्रपत्रिका वितरण

गैंडाकोट, १९ कात्तिक ।
विद्यालय तहबाटै विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सम्पूर्ण किताब नारायणगढले सञ्चालन गरिरहेको ‘म पनि पढ्छु’ अभियानअन्तर्गत नवलपरासी र चितवनका विभिन्न विद्यालयमा पुस्तक तथा पत्रपत्रिका वितरण र पुस्तक समीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसैक्रममा नवलपरासीको गैंडाकोट–१० पितौँजीस्थित श्री रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयका करिब ७०० विद्यार्थीलाई विभिन्न पत्रपत्रिका वितरण गरिएको छ । बिहीबार बिहान विद्यालयको प्रार्थना समयमा कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई ‘मुना’, ‘नारी’, ‘युवामञ्च’ र ‘मधुपर्क’ पत्रिका वितरण गरिएको हो ।

पत्रपत्रिका पढ्ने बानीले विद्यार्थीको ज्ञान बढाउनुका साथै चेतनाको दायरा फराकिलो बनाउने शिक्षक दिनेश कँडेलले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक नवराज काफ्लेले पाठ्यपुस्तकसँगै अतिरिक्त पुस्तक तथा पत्रपत्रिका पढ्ने बानीले समाज बुझ्न, देश–विदेशका गतिविधिबारे जानकारी लिन र शब्दभण्डार बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आफूले अध्ययन गरेको विद्यालयलाई सम्झिएर सहयोग गर्न पाउँदा खुसी लागेको सुवेदीले बताउनुभयो । विद्यार्थीले पाठ्यक्रमसँगै अतिरिक्त पुस्तक पढेर ज्ञान आर्जन गरून् र व्यावहारिक जीवनमा समेत अब्बल बनून् भन्ने उद्देश्यले विद्यालयलाई सहयोग गर्ने इच्छा पलाएको उहाँले बताउनुभयो ।

सुवेदीले डेनमार्कमा पुस्तकालय स्थापना गरी ५०० भन्दा बढी पुस्तक सङ्कलन गर्नुभएको छ । डेनमार्कमा बसोबास गर्ने नेपाली समुदायलाई आफ्नो भाषा, संस्कृति र इतिहासबारे जानकारी लिन पुस्तकालयले सहयोग पुर्‍याउने विश्वास उहाँको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट