काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा काठमाण्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ। विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमाण्डुले ९.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। यससँगै काठमाण्डुले ६२ बल बाँकी छँदै जित निकालेको हो।
काठमाण्डुको जितमा ओपनर डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दै अविजित ४४ रन बनाए। उनले २४ बलमा दुई चौका र तीन छक्का प्रहार गरे। विलियम बोसिस्टोले अविजित २३ रन जोडे। उनले २४ बलमा तीन चौका प्रहार गरे। साहिल पटेल १० रन बनाएर आउट भए।
दोस्रो विकेटका लागि वार्नर र बोसिस्टोले अविजित ६९ रनको साझेदारी गरेपछि काठमाण्डुले सहजै लक्ष्य पूरा गरेको थियो। उनीहरूले ३६ बलमा उक्त साझेदारी गरेका हुन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमा समेटिएको थियो। विराटनगरका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले ३१ बलमा २२ रन जोडे। बसिर अहमदले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरको सुरुवात निकै कमजोर रह्यो। पावरप्लेमा टोलीले तीन विकेट गुमाएर २३ रन मात्र बनाएको थियो। नवौँ ओभरको समाप्तिसम्म सात विकेट गुमाउँदा विराटनगर ३५ रनमा सीमित थियो। त्यसपछि रुपेश सिंह र एन्जेलो म्याथ्युजले आठौँ विकेटका लागि ४४ रनको साझेदारी गर्दै टोलीको स्कोर केही उकासे पनि ठूलो योगफल बनाउन सकेनन्।
काठमाण्डुका सन्तोष यादवले उत्कृष्ट बलिङ गर्दै तीन ओभरमा ११ रन खर्चेर तीन विकेट लिए। करण केसीले ४.३ ओभरमा १७ रन दिएर दुई विकेट हात पारे। सहान आराचिगेले दुई ओभरमा सात रन खर्चेर दुई विकेट लिए। जहान्दाद खान, शाहाब आलम र देव शाहले समान एक विकेट लिए।
उत्कृष्ट बलिङ प्रदर्शन गरेका सन्तोष यादव प्लेयर अफ द म्याच घोषित भए।
यस जितसँगै काठमाण्डु गोर्खाज ४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। तीन खेल खेलेको काठमाण्डुले दुई जित र एक हार बेहोरेको छ।
यसअघि दोस्रो स्थानमा रहेको विराटनगर भने पाँच खेलबाट चार अंकसहित पाँचौँ स्थानमा झरेको छ। विराटनगरले दुई खेल जित्दा तीन खेलमा हार बेहोरेको छ।
१५ खेल सकिँदा सात अंकसहित लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा छ। लुम्बिनीले चार खेलमध्ये तीनमा जित र एकमा नतिजाविहीन भएको छ। चार अंक भएका कर्णाली याक्स तेस्रो, जनकपुर बोल्ट्स चौथो र सुदूरपश्चिम रोयल्स छैटौँ स्थानमा छन्। तीन अंकसहित चितवन राइनोज सातौँ र अंकविहीन पोखरा एभेन्जर्स आठौँ स्थानमा छन्।






