मकवानपुर, १९ कात्तिक ।
मकवानपुरमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित रूपमा मनाउन आग्रह गर्दै देउसी–भैलो खेल्ने समयसीमा निर्धारण गरेको हो ।
प्रशासनले बिहीबार सूचना जारी गर्दै देउसी–भैलो तथा अन्य सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । साथै, पटका तथा प्लास्टिकका फूलगुच्छाको बिक्री–वितरणमा पूर्ण रोक लगाएको छ ।
चाडपर्वका समयमा समाजमा शान्ति सुव्यवस्था कायम राख्न, अशान्ति फैलिन नदिन तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न प्रशासनले यस्तो व्यवस्था गरेको जनाएको छ ।





