‘नेपालमै छ युवाको भविष्य’ विषयमा निबन्ध प्रतियोगिता

चितवन, १९ कात्तिक ।
प्रजातान्त्रिक विचार समाज, चितवनले माध्यमिक तह (कक्षा ९–१२) का विद्यार्थीबीच आयोजना गरेको जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
भरतपुर–१० स्थित मैयाँदेवी कन्या क्याम्पसको सभाहलमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका ५६ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीले ‘नेपालमै छ युवाको भविष्य’ शीर्षकमा आफ्ना मौलिक विचार, सिर्जनशीलता र लेखन क्षमता प्रस्तुत गरेका थिए ।

समाजको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगिता कार्यसमिति सदस्य सुमन सिलवालको संयोजनमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका पूर्वअध्यक्ष हरिराज पौडेल र निवर्तमान अध्यक्ष सुरेशचन्द्र आचार्यले राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श तथा मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धन गर्नु समाजको मूल उद्देश्य रहेको बताउनुभयो ।

उहाँहरूले लोकतान्त्रिक संस्कार र संस्कृतिको विकास गर्दै सामाजिक न्याय, समानता र समावेशितामा आधारित समुन्नत समाज निर्माणका लागि राजनीतिक, सामाजिक, आर्थिक तथा शैक्षिक विषयमा निरन्तर वैचारिक बहस, अध्ययन, अनुसन्धान र विमर्श आवश्यक रहेको बताउनुभयो । सुशासन र उत्तरदायित्व प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई रचनात्मक तथा बौद्धिक गतिविधिमार्फत लोकतान्त्रिक अभियानमा जोड्नुपर्नेमा पनि उहाँहरूले जोड दिनुभयो ।

संस्थाका अध्यक्ष प्राध्यापक डा. एकनारायण पौडेलले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो ।

प्रतियोगिताको नतिजा संस्थाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई आगामी विशेष समारोहमा पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यसअघि संस्थाका सचिव डा. केशवराज चालिसेले कार्यक्रम सञ्चालन गर्दै प्रतियोगिताको औचित्य र विद्यार्थी लक्षित बौद्धिक गतिविधिको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा संस्थाका पदाधिकारी तथा कार्यसमिति सदस्य, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, मैयाँदेवी कन्या क्याम्पसका प्रमुख तथा प्राध्यापक र स्थानीय बौद्धिक व्यक्तित्वहरूको उपस्थिति थियो । सहभागी विद्यार्थीलाई खाजा वितरण तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट