चितवन, १९ कात्तिक ।
भूपराज पाठक स्मृति प्रतिष्ठानले चितवनको कृष्णपुर माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच क्यान्सरपीडित परिवारका बालबालिका तथा अभिभावकविहीन विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
प्रतिष्ठानले पाँच शैक्षिक संस्थाका १५ जना विद्यार्थीलाई लक्षित गरी गरेको सहयोगबाट उनीहरू लाभान्वित भएका छन् ।
सहयोग प्राप्त गर्ने संस्थाहरूमा हिमालय आधारभूत विद्यालय (भरतपुर–११), विश्वप्रकाश माध्यमिक विद्यालय (भरतपुर–१५), कृष्णपुर माध्यमिक विद्यालय (भरतपुर–७), सिद्धिविनायक माध्यमिक विद्यालय (भरतपुर–११) र सप्तगण्डकी क्याम्पस रहेका छन् ।
कृष्णपुर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खेमराज वस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी प्रमुख अतिथि रहनुभएको थियो । समाजसेवीद्वय चन्द्रमा पोख्रेल र हरिप्रसाद पोख्रेल विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा विश्वप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक जयकृष्ण शर्मा, कृष्णपुर माविका प्रधानाध्यापक टंक न्यौपाने, प्रतिष्ठानका संस्थापक हरिप्रसाद न्यौपाने तथा पत्रकार एवं पठन संस्कृति अभियन्ता लेखराम सापकोटालगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अध्यक्ष विपिन पाठकले गर्नुभएको थियो ।
कार्यक्रममा प्रत्येक विद्यार्थीलाई झोला, कापी र कलम वितरण गर्नुका साथै विद्यालय पोसाक र जुत्ता खरिदका लागि आर्थिक सहयोग प्रदान गरिएको थियो । साथै, कार्यक्रममा सहभागी एक सयभन्दा बढी विद्यार्थीलाई ‘मुना’ बालपत्रिका वितरण गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष विपिन पाठकले क्यान्सरपीडित परिवारका बालबालिका तथा अभिभावकविहीन विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।
विदेशमा रहेर पनि देश र समाजप्रति उत्तरदायी रहँदै आउनुभएका समाजसेवी सुनिल पोखरेलले कार्यक्रमको सम्पूर्ण आर्थिक व्यवस्थापन गर्नुभएको प्रतिष्ठानले जनाएको छ ।





