मिलरको ९३ रनका बावजुद सुदूरपश्चिमसँग कर्णाली पराजित 

काठमाडौं । दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले अविजित ९३ रनको उत्कृष्ट इनिङ्स खेले पनि कर्णाली याक्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा जित दिलाउन सकेनन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको लिग चरणको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई ३९ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि मिलरले ५५ बलमा पाँच चौका र सात छक्कासहित अविजित ९३ रन बनाए । तर, उनलाई अर्को छेउबाट पर्याप्त साथ मिल्न सकेन ।

लक्ष्य पछ्याउने क्रममा कर्णालीको सुरुवात नै कमजोर रह्यो । अनिल खरेलले उत्कृष्ट फिल्डिङ प्रदर्शन गर्दै ओपनर अरिफुल इस्लामलाई शून्य रनमा आउट गराए । त्यसपछि मार्क वाट चार रनमा र विकेटकिपर दीपक डुम्रे १८ बलमा चार रन बनाएर पभेलियन फर्किए ।

पवन सर्राफले पाँच रन मात्रै बनाउन सके । कप्तान सोमपाल कामी आठ र गुल्सन झाले तीन रन बनाए । हुसेन तलत एक रनमा आउट भएपछि कर्णाली थप दबाबमा परेको थियो ।

लगातार विकेट गुमेपछि मिलरले एकतर्फबाट इनिङ्स सम्हाल्ने प्रयास गरे। उनले आक्रामक ब्याटिङसँगै स्ट्राइक रोटेट गर्दै रनको गति बढाउन खोजे पनि आवश्यक रनरेट निकै माथि पुगिसकेको थियो । सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए भने अन्य बलरले पनि कर्णालीलाई खुला रूपमा रन बनाउन दिएनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

सुदूरपश्चिमका ओपनर सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए । भण्डारीले २२ बलमा दुई चौका र दुई छक्कासहित २७ रन बनाए । उनी रनआउट भए । जैबले २४ बलमा चार चौका र एक छक्कासहित ३५ रन बनाए । उनलाई सूर्य तामाङले बोल्ड गरे।

ओपनिङ साझेदारी टुटेपछि सुदूरपश्चिमको रनगति केही सुस्त भएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा स्टम्पिङ भए । ब्रान्डन म्याकमुलनले १६ बलमा २४ रन बनाए भने इशान पाण्डेले १३ बलमा तीन छक्कासहित २३ रनको योगदान दिए ।

आरिफ शेखले ११ रन बनाए । अन्तिम ओभरतिर थरिन्दु रत्नायकेले अविजित २२ रन र स्कट कुगेलेइनले अविजित १३ रन जोड्दै सुदूरपश्चिमलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए ।

कर्णालीका मार्क वाटले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिए । नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले एक–एक विकेट लिए ।

अर्कोतर्फ, सुदूरपश्चिमले ब्याटिङमा बलियो सुरुवात गरे पनि बीचका ओभरमा कर्णालीले पुनरागमनको प्रयास गरेको थियो । तर अन्तिम चरणमा रत्नायके र कुगेलेइनको योगदानले टोलीलाई १७६ रनसम्म पुर्‍यायो । जवाफमा सुदूरपश्चिमका बलरले कर्णालीको शीर्षक्रमलाई दबाबमा राख्दै जित सुनिश्चित गरे ।

यस जितसँगै सुदूरपश्चिम रोयल्स ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार अंकमै सीमित कर्णाली याक्स भने तेस्रो स्थानमा कायम छ । सुदूरपश्चिमको यो जितले प्लेअफ यात्रालाई थप बलियो बनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट