चितवन राइनोजको प्लेअफको सम्भावना जीवितै, पोखरा ३० रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमा अलआउट भएपछि चितवनले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।

१५२ रनको लक्ष्य पछ्याएको पोखराले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमायो । कप्तान कुशल भुर्तेल पहिलो ओभरमै चार रन बनाएर आउट भए । युवराज समराले १४ बलमा १९ रन बनाए पनि पोखराको इनिङ्सलाई गति दिन सकेनन् ।

ओपनर अर्जुन कुमालले एकतर्फबाट संघर्ष गर्दै ४४ बलमा ४५ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरे । तर उनलाई अन्य ब्याटरबाट पर्याप्त साथ मिलेन ।

पोखराका अन्य ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा टोली १९ ओभरमै १२१ रनमा समेटियो ।

चितवनका बलरमध्ये कमलसिंह ऐरीले दुई ओभरमा सात रन खर्चेर तीन विकेट लिए । रिजन ढकालले २४ रन दिँदै चार विकेट झारे । उनी प्लेयर अफ दि म्याच समेत घोषित भए । त्यस्तै, दान माउस्ले, मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको पोखराविरुद्ध चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

चितवनका लागि सिकन्दर राजाले आक्रामक १६ बलमा ३७ रन बनाए । उनले दुई चौका र चार छक्का प्रहार गरे । रवि बोपाराले २८ बलमा ३५ रनको योगदान दिए । पाँचौँ विकेटका लागि राजा र बोपाराबीच ६० रनको साझेदारी भएको थियो ।

यसअघि ओपनर अर्जुन साउद र डेभिड मलानले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । साउदले २७ बलमा ३१ तथा मलानले २८ बलमा २८ रन बनाए ।

पोखराका बिपिन खत्री, चमिका करुणारत्ने र कुशल भुर्तेलले समान दुई विकेट लिए ।

जितपछि चितवनले २ अंक बटुलेको छ । चार खेल खेलेको उसले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको छ। पोखरा विरुद्धको खेलपछि चितवन ५ अङ्कमा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

चार खेल खेलेको पोखराले भने अझै पनि पहिलो जित निकाल्न बाँकी छ। बिना कुनै अङ्क पोखरा तालिकाको पुछारमा रहेको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट