देश जस्तै रहेछ आँखा
देश दुख्दा
आँखा दुख्दोरहेछ ।
आँखा भित्रको हिमाल
आँखा भित्रको पहाड
आँखा भित्रको मेची
आँखा भित्रको महाकाली
रसाउँदा रहेछन्
देश दुख्दा
आँखा दुख्दोरहेछ ।
आँखा हिन्दु रहेछ
आँखा बौद्ध रहेछ
आँखा मुस्लिम रहेछ
आँखा क्रिश्चियन रहेछ
सबै सबै रहेछ आँखा
सबैलाई समान
देख्दोरहेछ आँखा
सबैलाई सम्मान गर्दै
हेर्दोरहेछ आँखा
देश दुख्दा
आँखा दुख्दोरहेछ ।
मिलेर बसेका
आँखाका तन्तुहरूलाई
खलबलाउँदा
केही भाइरसहरूले
बिझाउँदोरहेछआँखा
जसरी
देश बिझाइरहेछ आज
उसरी नै
देश दुख्दा
आँखा दुख्दोरहेछ ।
आँखा –
हिंसा होइन
शान्ति मनपराउँछ
गरिबी होइन
समृद्धि मनपराउँछ
आँखा –
फुट होइन
एकता मनपराउँछ
देशलाई माया गर्ने आँखा
देश दुख्दा
आँखा दुख्दोरहेछ
देश रूँदा
आँखा रूँदोरहेछ ।
– वाल्मीकि शिक्षा सदन, भरतपुर ४, चितवन





