११४ दिनपछि खुल्यो भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय

काठमाडौँ, २० साउन ।

भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाइएको ताल्चा ११४ दिनपछि खोलिएको छ । समाज कल्याण परिषद्ले गत चैत ३० गते बन्द गरेको पुस्तकालयको ताल्चा खोलिएसँगै साउन २५ गतेदेखि पाठकका लागि नियमित सञ्चालन गर्ने सहमति भएको छ ।

पुस्तकालयको ताल्चा खोल्न पुगेका सरकारी प्रतिनिधि, पुस्तकालयका प्रतिनिधि र पाठकबीच चाबी कसले राख्ने तथा पुस्तकालय आगामी दिनमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा विवाद भएपछि करिब एक घण्टा छलफल भएको थियो । छलफलपछि तीन पक्षबीच लिखित सहमति भएको हो ।

सहमतिअनुसार पुस्तकालयको चाबी समाज कल्याण परिषद्ले नभई पुस्तकालयले नै राख्नेछ । सरसफाइ तथा आवश्यक व्यवस्थापन पूरा गरी साउन २५ गतेदेखि सबै पाठकका लागि पुस्तकालय नियमित खुला गरिनेछ । त्यस्तै, पुस्तकालयको दीर्घकालीन सञ्चालनको स्वरूपबारे सरोकारवालासँग छलफल गरी उचित निकास निकाल्ने सहमति भएको छ ।

पुस्तकालय खुलाउन निरन्तर खबरदारी गर्दै आउनुभएका लेखक तथा पत्रकार विमल आचार्यका अनुसार सरकारी प्रतिनिधिहरू ताल्चा खोलेपछि पुनः ताल्चा लगाएर चाबी आफैँसँग राखेर फर्किने तयारीमा हुनुहुन्थ्यो ।

उहाँले सरकारी प्रतिनिधिहरूले पुस्तकालय सञ्चालक तथा संस्थापक पक्षसँग वार्ता नगरी पुस्तकालय सरकार मातहत आएको बताएको उल्लेख गर्नुभएको छ । पुस्तकालय कहिलेदेखि नियमित खुल्छ र आगामी दिनमा कसरी सञ्चालन हुन्छ भन्ने प्रश्नमा समेत स्पष्ट लिखित वा मौखिक जवाफ नआएपछि आफूहरूले विरोध जनाएको उहाँको भनाइ छ ।

पुस्तकालय पक्ष र उपस्थित पाठकहरूले नियमअनुसार सञ्चालन भइरहेको गैरनाफामूलक सार्वजनिक संस्थाको स्वामित्व सरकारले कुन कानूनी आधार र प्रक्रियाबाट लिन खोजेको हो भन्ने प्रश्न उठाएका थिए ।

पुस्तकालय नियमित चन्दा, दान तथा करिब तीन हजार सदस्यबाट उठ्ने वार्षिक तीन सय रुपैयाँ शुल्कलगायत स्रोतबाट सञ्चालन हुँदै आएको उल्लेख गर्दै उनीहरूले विधि र प्रक्रियाविना संस्थाको स्वामित्व सरकारले लिन नमिल्ने अडान राखेका थिए ।

आचार्यका अनुसार सरकारी प्रतिनिधिहरूले ‘माथिको आदेश’ रहेको जवाफ दिएपछि पुस्तकालयको चाबी पुस्तकालयसँगै रहनुपर्ने र आगामी सञ्चालनबारे लिखित सहमति हुनुपर्ने माग गरिएको थियो ।

सहमति नगरी सरकारी प्रतिनिधिलाई बाहिर जान नदिने भन्दै पाठकहरू ढोकामा बसेपछि करिब एक घण्टा विवाद र छलफल चलेको थियो । त्यसपछि सरकारी प्रतिनिधि, पुस्तकालयका प्रतिनिधि र पाठकका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।

आचार्यले ताल्चा खुल्नुलाई मात्र समस्याको समाधान मान्न नहुने बताउँदै पुस्तकालयको नियमित र दीर्घकालीन सञ्चालन सुनिश्चित नभएसम्म खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘आज पुस्तकालय खुलेको होइन, ताल्चा मात्र खुलेको हो । हाम्रो खबरदारी जारी रहनुपर्छ ।’

पुस्तकालयको दीर्घकालीन सञ्चालनको स्वरूप स्पष्ट हुनुपर्ने माग गरेपछि सहमतिपत्रमा सरोकारवालासँग छलफल गरी उचित निकास निकाल्ने बुँदा थपिएको उहाँले जानकारी दिनुभएको छ ।

समाज कल्याण परिषद्ले भाडा बक्यौता रहेको कारण देखाउँदै गत चैत ३० गते भृकुटीमण्डपका अन्य स्टलसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा पनि ताल्चा लगाएको थियो । पुस्तकालय बन्द भएपछि लेखक, साहित्यकार, पाठक तथा पठन संस्कृतिका अभियन्ताहरूले निर्णयको विरोध गर्दै तत्काल पुस्तकालय खोल्न माग गरेका थिए ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले पुस्तकालय बन्द भएको विषयले आफूलाई लेखक र पाठकका हैसियतले गहिरो रूपमा छोएको उल्लेख गर्दै यसलाई अझ व्यापक, सुरक्षित, आधुनिक र जनमुखी ढङ्गले सञ्चालन गर्ने दीर्घकालीन तयारी भइरहेको बताउनुभएको थियो ।

मन्त्रीको उक्त धारणापछि लेखक तथा पत्रकार आचार्यले नयाँ र सुविधासम्पन्न पुस्तकालय बनाउने योजना स्वागतयोग्य भए पनि पहिले सञ्चालनमा रहेको पुस्तकालय तत्काल खोल्नुपर्ने भन्दै सार्वजनिक रूपमा प्रश्न उठाउनुभएको थियो ।

११४ दिनपछि पुस्तकालयको ताल्चा खुलेसँगै तत्कालको विवादमा एउटा निकास देखिएको छ । यद्यपि पुस्तकालयको दीर्घकालीन सञ्चालन कसरी हुने भन्ने विषय भने सरोकारवालाबीचको आगामी छलफलबाट टुङ्गिनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट