चितवन, २५ साउन ।
घरजग्गा व्यवसाय तथा भवन निर्माण क्षेत्रलाई प्रबर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘बिल्ड नेपाल एक्स्पो २०२६’ आयोजना हुने भएको छ ।

निर्माण कम्पनी एसवन होम्स र भी ग्रुप इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आगामी मंसिर ११ देखि १३ गतेसम्म चितवन उद्योग संघस्थित चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो आयोजना गर्न लागिएको हो ।
घरजग्गा कारोबार, भवन निर्माण तथा निर्माणमा आवश्यक सामग्रीका बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको एसवन होम्सका प्रबन्ध निर्देशक तथा एक्स्पो संयोजक सुरज न्यौपानेले जानकारी दिनुभयो ।
देशकै केन्द्रविन्दु तथा विभिन्न क्षेत्रमा सम्भावना बोकेको चितवनलाई लक्षित गर्दै घरजग्गा कारोबारलाई गतिशील बनाउन एक्स्पो आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
“हामीले अघिल्लो वर्ष पनि घर बनाउने मेला आयोजना गरेका थियौँ । त्यसमा प्रदर्शक तथा सेवाग्राहीबाट उल्लेखनीय साथ पायौँ । त्यसलाई परिमार्जन र विस्तार गर्दै यसपटक बृहद् रूपमा दोस्रो चरणको एक्स्पो आयोजना गर्न लागेका हौँ,” न्यौपानेले भन्नुभयो ।
घरजग्गा तथा घर निर्माण सामग्रीका विक्रेता र क्रेतालाई एउटै स्थानमा जोड्ने उद्देश्य एक्स्पोको रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, घर तथा बसोबास निर्माणलाई गुणस्तरीय र सहज बनाउन सरकारी निकाय तथा निजी क्षेत्रको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको भी ग्रुप इभेन्ट्सका अध्यक्ष विपिन कँडेलले जानकारी दिनुभयो ।
“मानिसको जीवनको सपना र आवश्यकता अन्ततः घरजग्गासँग जोडिन्छ । यस क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउन पनि एक्स्पोले सहयोग पुग्ने विश्वासका साथ आयोजना गर्न लागेका हौँ,” कँडेलले भन्नुभयो ।
एक्स्पोमा अत्याधुनिक, बलियो, भूकम्प प्रतिरोधी, टिकाउ तथा आकर्षक घर निर्माणका विषयमा आवश्यक जानकारी एकै स्थानबाट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । घर निर्माणमा प्रयोग हुने सामग्री, सरकारी मापदण्ड तथा सुरक्षासम्बन्धी विषयमा समेत जानकारी उपलब्ध गराइनेछ ।
एक्स्पोलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन सरोकारवालासँग राय–सुझाव संकलन भइरहेको आयोजकले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन हुने एक्स्पोबाट निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता, सर्वसाधारण तथा विद्यार्थी लाभान्वित हुने आयोजकको विश्वास छ ।
एक्स्पोमा सहभागी हुन उद्योगी, व्यवसायी, विक्रेता, सेवाग्राही तथा उपभोक्तालाई आयोजकले आग्रह गरेको छ । साथै, व्यवसाय प्रबर्द्धनका लागि प्रदर्शकहरूलाई समयमै स्टल बुकिङ गर्न अनुरोध गरिएको छ ।
चितवन उद्योग संघ र भरतपुर महानगरपालिकाको समन्वयमा आयोजना हुने एक्स्पो चितवन एक्स्पो सेन्टरमा सञ्चालन हुनेछ ।





