चितवन, ६ साउन ।
चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिता आगामी असोज १६ र १७ गते आयोजना गर्ने भएको छ ।
भरतपुरस्थित सिएमटी रिसोर्टमा हुने प्रतियोगितासँगै प्रथम पुरुष स्पोर्टस् फिजिक्स र दोस्रो महिला एथ्लेटिक्स फिजिक्स प्रतियोगिता पनि सञ्चालन गरिनेछ । दुई दिनसम्म चल्ने प्रतियोगितामा ९ विधामा प्रतिस्पर्धा हुनेछ ।
मिस्टर चितवनतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । साथै ४० वर्षमाथिको मास्टर वेट, पुरुष स्पोर्टस् फिजिक्स खुला र महिला एथ्लेटिक्स फिजिक्स खुला विधामा पनि प्रतिस्पर्धा हुने संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए ।
प्रतियोगितामा ७० भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। सहभागी खेलाडी चितवन जिल्लाका हुनुपर्नेछ । स्थायी ठेगाना चितवन नभएका खेलाडीले कम्तीमा ५ वर्षदेखि चितवनमा बसोबास गरेको वडा कार्यालयको सिफारिस पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
ओभरअल मिस्टर चितवन विजेताले गोल्ड मेडलसहित १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । शारीरिक सुगठनका प्रत्येक तौल समूहका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पुरुष स्पोर्टस् फिजिक्स र महिला एथ्लेटिक्स फिजिक्सका विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता आयोजना गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजकका अनुसार विभिन्न उपसमिति गठन गरी तयारीलाई तीव्र बनाइएको छ । यसअघि २०८१ सालमा सम्पन्न पहिलो संस्करणको उपाधि राजकुमार मानन्धरले जितेका थिए ।




