सम्बन्धविच्छेदपछि पनि सकिँदैन पीडा : दीर्घकालीन समस्याले घेरिँदै बालबालिका

पूर्वी नेपालको सुनसरी जिल्लाको तरहरामा हुर्किँदै गर्दा मैले आफ्ना धेरै साथीहरूलाई आमाबुबाविना एक्लै जीवन बिताइरहेको देख्थेँ । विद्यालयमा हुने अभिभावक दिवस जस्ता कार्यक्रममा पनि उनीहरू प्रायः एक्लै उपस्थित हुन्थे । उनीहरूलाई देख्दा मेरो मनमा एउटा प्रश्न बारम्बार उब्जिरहन्थ्यो । “आफ्ना जीवनका महत्त्वपूर्ण क्षणहरूमा अभिभावकको साथ नपाउँदा उनीहरूले आफूलाई कस्तो महसुस गरेका होलान् ? उनीहरूले ती परिस्थितिहरूको कसरी सामना गरिरहेका होलान् ?”

ती साथीहरूको भन्दा मेरो बाल्यकाल निकै फरक थियो । मेरा ससाना सफलतादेखि जीवनका कठिन मोडसम्म मेरा आमाबुबा सधैं मेरो साथमा रहनुभयो । उहाँहरूको माया, हौसला र साथले मलाई आत्मविश्वासी बनायो । यही कारणले गर्दा हुनुपर्छ आमाबुबाको सम्बन्धविच्छेदपछि बालबालिकाको जीवन कस्तो बन्दछ भन्ने विषयप्रति ममा गहिरो जिज्ञासा उत्पन्न भयो ।

Photo: Magnific

घर नजिकैको एउटा प्राथमिक विद्यालयमा शिक्षकका रूपमा काम गर्न थालेपछि यो जिज्ञासा अझ गहिरिएको पाएँ । कुनै एक दिन विद्यालयमा अभिभावक भेलाको आयोजना गरिएको थियो । प्रायः सबै बालबालिका आफ्ना अभिभावकसँग कार्यक्रममा आएका थिए । सबै रमाइरहेका थिए । तर एउटा बच्चा भने विद्यालयको बरन्डामा बसी एक्लै टोलाइरहेको देखेँ । उसलाई कार्यक्रममा किन सहभागी नभएको भनेर सोधेँ तर उसले सुरुमा केही भन्न मानेन । पछि उसले मनभरिको भारी बिसाउँदै बिस्तारै भन्यो, “मेरो आमाबुबा आउनुभएको छैन । मलाई अरूसँग बस्न मन छैन ।”

त्यतिबेला म त्यो विद्यालयमा नयाँ शिक्षकको रूपमा पुगेकी थिएँ । त्यसैले उसको पारिवारिक पृष्ठभूमिबारे मलाई खासै जानकारी थिएन । पछि मात्र थाहा भयो कि उसका आमाबुबाको केही वर्षअघि सम्बन्धविच्छेद भएको रहेछ । ऊ विद्यालयकै छात्रावासमा बसेर पढिरहेको रहेछ। त्यो दिन मैले एउटा बच्चाको मौनताभित्र लुकेको पीडा महसुस गरेँ। कहिलेकाहीँ बालबालिकाले आफ्नो दुःख शब्दमा व्यक्त गर्न सक्दैनन् तर उनीहरूको व्यवहारले धेरै कुरा बोलिरहेको हुन्छ भन्ने कुरा मैले त्यहीँ दिन बुझेँ ।

यही अनुभवले मलाई सामाजिक कार्य विषयको अध्ययनतर्फ अझ गम्भीर बनायो । पारिवारिक संरचना, अभिभावकीय सम्बन्ध र बाल विकासबीचको सम्बन्ध बुझ्दै जाँदा मैले परिवार बालबालिकाको समग्र विकासका लागि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा महसुस गर्न थालेँ । संयुक्त राष्ट्रसंघीय बालकोषले (युनिसेफ) पनि “बालबालिका परिवारभित्र हुर्कँदा नै उनीहरूले आवश्यक माया, हेरचाह र सहयोग प्राप्त गर्छन्” भन्ने कुरा उल्लेख गरेको छ । यसले परिवार भनेको केवल सँगै बस्ने व्यक्तिको समूह मात्र नभई बालबालिकाको भावनात्मक सुरक्षा र व्यक्तित्व विकासको आधार भएको पुष्टि गर्छ ।

बाल्यकालमा हुने अभिभावक र बालबालिकाबीचको बिछोडले किशोरावस्था र युवा अवस्थासम्म मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र शैक्षिक उपलब्धिमा गम्भीर असर पार्ने देखाएको छ। यस्तो बिछोडले चिन्ता, डिप्रेसन, आत्मविश्वासमा कमी, व्यवहारगत समस्या तथा सामाजिक सम्बन्धमा कठिनाइ ल्याउन सक्ने सम्भावना रहन्छ ।

त्यसैगरी होङ्हुआ ली, काइ लिउ, जुनसोङ फेई, तोङ्श्वाङ युआन र सोङ्ली मेईको दलले २०२४ मा गरेको एक अध्ययनले बाल्यकालमा हुने अभिभावक र बालबालिकाबीचको बिछोडले किशोरावस्था र युवा अवस्थासम्म मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र शैक्षिक उपलब्धिमा गम्भीर असर पार्ने देखाएको छ।

यस्तो बिछोडले चिन्ता, डिप्रेसन, आत्मविश्वासमा कमी, व्यवहारगत समस्या तथा सामाजिक सम्बन्धमा कठिनाइ ल्याउन सक्ने सम्भावना रहन्छ । सामाजिक कार्यको विद्यार्थीका रूपमा मैले गरेको अध्ययनमा पनि सोही निष्कर्ष पाइएको छ जुन मेरो बाल्यकालदेखि हालसम्मको अनुभवसँग ठ्याक्कै मेल खाने पाएँ । परिवारले बालबालिकालाई सुरक्षा, स्थायित्व र आत्मबल दिन्छ भने त्यो आधार कमजोर हुँदा उनीहरूको भावनात्मक विकासमा दीर्घकालीन असर पर्न सक्छ।

मेरो अनुसन्धानप्रतिको प्रेरणालाई अझ गहिरो बनाउने अर्को घटना मेरो आफ्नै छिमेकसँग सम्बन्धित थियो। हाम्रो समुदायमा तीन जना सन्तान भएका एक दम्पतिको सम्बन्धविच्छेद भयो । त्यसपछि ती बालबालिका अत्यन्तै कमजोर आर्थिक अवस्थामा सानो भाडाको घरमा बस्न बाध्य भए । सम्बन्धविच्छेद हुँदा जेठी छोरी ११ वर्ष, दोस्रो सन्तान ९ वर्षको र कान्छो बच्चा मात्र २ वर्षको थियो । म समुदायको बाल क्लबमा सक्रिय थिएँ। त्यही कारणले गर्दा मैले उनीहरूलाई नजिकबाट देख्ने अवसर पाएँ ।

Photo: Magnific

आमाबुबाको सम्बन्धविच्छेद हुनुअघि उनीहरू विभिन्न सामाजिक गतिविधि जस्तै सडक नाटक र गीतसंगीतमा निकै सक्रिय हुन्थे । तर आमाबुबाको सम्बन्धविच्छेदपछि उनीहरू विस्तारै सबैबाट टाढा हुन थाले । उनीहरू विद्यालयका साथीहरूसँग घुलमिल हुन छोडे । सामूहिक गतिविधिमा भाग लिन छाडे र आफ्ना भावना कसैसँग बाँड्न पनि डराउन थाले ।

सबैभन्दा पीडादायी दृश्य त जेठी छोरीले आफ्नो पढाइ छोडेर अरूको घरमा घरेलु कामदारका रूपमा काम गर्न थाल्नु नै थियो । उनले आफ्ना साना भाइबहिनीको पालनपोषणका लागि आफ्ना सपना त्याग्नुपरेको थियो । अझ उनकी कान्छी बहिनीले त शैशव अवस्थादेखि नै आमाको कुटपिट सहेर हुर्किरहेकी थिइन् । यसले गर्दा उनको मानसिक स्वास्थ्यमा गम्भीर असर परिरहेको थियो । त्यो घटना मैले मात्र होइन, हाम्रो समुदायका धेरै मानिसहरूले प्रत्यक्ष देखेका थिए ।

बालबालिकालाई सम्बन्धविच्छेदको कानुनी प्रक्रियाले मात्र होइन, त्यसअघि घरभित्र हुने हिंसा, तनाव, डर र असुरक्षाले पनि गम्भीर रूपमा प्रभावित बनाउँछ । हाम्रो समाजमा यस्ता विषयहरूलाई प्रायः परिवारको “व्यक्तिगत कुरा” भनेर बेवास्ता गरिन्छ । यद्यपि त्यसको सबैभन्दा ठूलो मूल्य बालबालिकाले चुकाइरहेका हुन्छन् ।

जेठी दिदीले आफ्ना पीडाहरू मसँग बाँड्थिन् । उनी भन्थिन्, “बुबाआमाबीच झगडा हुँदा आमा रक्सी खानुहुन्थ्यो। कहिलेकाहीँ गर्भमा रहेको बच्चा मार्न आफ्नै पेटमा हान्नुहुन्थ्यो।” उनका यी शब्दहरू सुनिरहँदा मैले महसुस गरेँ कि सम्बन्धविच्छेद हुनुपूर्वका घरायसी झैझगडा, हिंसा र असुरक्षाले पनि बालबालिकाको मनमा गहिरो घाउ छोड्ने रहेछ ।

यस्ता घटनाहरूले मलाई एउटा महत्त्वपूर्ण कुरा बोध गराएको थियो । बालबालिकालाई सम्बन्धविच्छेदको कानुनी प्रक्रियाले मात्र होइन, त्यसअघि घरभित्र हुने हिंसा, तनाव, डर र असुरक्षाले पनि गम्भीर रूपमा प्रभावित बनाउँछ । हाम्रो समाजमा यस्ता विषयहरूलाई प्रायः परिवारको “व्यक्तिगत कुरा” भनेर बेवास्ता गरिन्छ । यद्यपि त्यसको सबैभन्दा ठूलो मूल्य बालबालिकाले चुकाइरहेका हुन्छन् ।

सम्बन्धविच्छेद परिवारका सबै सदस्यका लागि तनावपूर्ण अनुभव हो तर बालबालिकाका लागि भने यसले उनीहरूको सम्पूर्ण संसार नै भत्किएको अनुभूति गराउन सक्छ । सन्तान जुनसुकै उमेरमा भए पनि उनीहरूलाई आफ्ना आमाबुबाको सम्बन्ध टुटेको देख्दा गहिरो भावनात्मक आघात हुन सक्छ ।

मेरा आफ्नै अनुभव, शिक्षकका रूपमा गरेका अवलोकन, सामाजिक कार्य अध्ययनबाट प्राप्त ज्ञान तथा समुदायमा देखेका वास्तविक घटनाहरूले मलाई एउटा गहिरो प्रश्नतर्फ डोर्याए । बाल्यकालमा अभिभावकको सम्बन्धविच्छेद भोगेका व्यक्तिहरूले वयस्क भएपछि आफ्नो जीवनलाई कसरी सम्झन्छन् ? त्यसले उनीहरूको मानसिक स्वास्थ्य, सम्बन्ध, आत्मविश्वास र भविष्यप्रतिको दृष्टिकोणमा कस्तो प्रभाव पार्छ ? यही प्रश्नको उत्तर खोज्ने उद्देश्यले मैले यो अनुसन्धान गर्न प्रेरणा पाएँ । मेलाई विश्वास छ कि सम्बन्धविच्छेदपछि बालबालिकाले भोग्ने अनुभवहरूलाई बुझ्न सकेमा उनीहरूका लागि प्रभावकारी सामाजिक सहयोग, मानसिक स्वास्थ्य सेवा तथा परिवार केन्द्रित नीतिहरू विकास गर्न सकिनेछ । बालबालिकाको आवाज सुन्नु, उनीहरूको अनुभवलाई सम्मान गर्नु र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु आजको समाजको साझा जिम्मेवारी हो ।

नेपाल सरकारको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सन् २०१५ (वि.सं. २०७२) मा प्रकाशन गरेको वार्षिक व्यक्तिगत घटना दर्ता प्रतिवेदन अनुसार त्यसबेला देशभर सम्बन्धविच्छेदका जम्मा १ हजार ३५५ वटा घटना दर्ता भएका थिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आधिकारिक वेबसाइट अनुसार २०८० साउन २० गतेसम्म अनलाइन प्रणालीमा ५० हजार १११ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएका थिए । २०८३ असार २७ गतेसम्म आइपुग्दा उक्त संख्या बढेर १ लाख २७ हजार ५७५ पुगेको छ ।

नेपालमा सम्बन्धविच्छेदका घटनाहरू निरन्तर बढ्दै गएको तथ्याङ्कले धेरैभन्दा धेरै बालबालिका यस प्रक्रियाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् भन्ने संकेत गर्दछ। यसले उनीहरूको मानसिक स्वास्थ्य, शैक्षिक उपलब्धि, सामाजिक सम्बन्ध तथा भविष्यको जीवनमा दीर्घकालीन असर पर्ने सम्भावना बढाएकाले बालबालिकाको समग्र कल्याणबारे गम्भीर बहस आवश्यक भएको छ।

सम्बन्धविच्छेदले कानुनी रूपमा वैवाहिक सम्बन्धको अन्त्यलाई जनाउँछ । यसपछि दुवै पति–पत्नीलाई वैवाहिक जिम्मेवारी तथा कानुनी दायित्वबाट मुक्त हुन्छन् । यस प्रक्रियामा सम्पत्तिको बाँडफाँड, सन्तानको अभिभावकत्व, आर्थिक दायित्व तथा अन्य कानुनी व्यवस्थाहरू समावेश हुन्छन् ।

अभिभावकको सम्बन्धविच्छेदप्रति बालबालिकाको धारणा

अभिभावकको सम्बन्धविच्छेदप्रति बालबालिकाको धारणा भन्नाले उनीहरूले आफ्ना आमाबुबाको सम्बन्धविच्छेदलाई कसरी बुझ्छन्, त्यसको कारणलाई कसरी व्याख्या गर्छन्, परिवारभित्र आएका परिवर्तनहरूलाई कसरी अनुभव गर्छन् तथा ती परिवर्तनबाट उत्पन्न हुने भावनाहरूलाई कसरी व्यवस्थापन गर्छन् भन्ने संज्ञानात्मक र भावनात्मक प्रक्रियालाई जनाउँछ। यस्ता धारणाहरूले बालबालिकामा कुनै पनि वातावरणलाई कसरी सामना गर्ने भन्ने क्षमता निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । साथै, यसले उनीहरूको तत्कालीन भावनात्मक अनुकूलन मात्र नभई दीर्घकालीन मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध तथा शैक्षिक उपलब्धिमा समेत गहिरो प्रभाव पार्न सक्छ ।

सम्बन्धविच्छेदका कारण आमाबुबामध्ये एकजनाको साथ गुमाउनु बालबालिकाका लागि निकै पीडादायी अनुभव हुन सक्छ। मैले स्नातकोत्तर तहमा सामाजिक कार्य विषयमा गरेको शोधमा धेरै किशोरकिशोरीले आमाबुबाको सम्बन्धविच्छेदलाई आफ्नो व्यक्तित्व र सामाजिक छविसँग जोडेर हेर्ने गरेको पाइयो। अन्तर्वार्ताका क्रममा उनीहरूले साथीहरूले परिवार वा आमाबुबाबारे सोध्दा असहज, लज्जित र निराश महसुस हुने बताएका थिए।

यो अवस्थाले सम्बन्धविच्छेद भएका परिवारका बालबालिकाले आफूलाई अरूभन्दा कम मूल्यवान् वा कम सम्मानित ठान्ने सम्भावना रहेको देखाउँछ। यस्ता सोच र अनुभवले उनीहरूको आत्मसम्मान, आत्मविश्वास तथा सामाजिक सम्बन्धमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्छ।

अभिभावकको सम्बन्धविच्छेदले बालबालिकामा पार्ने प्रभाव

सरकारी तथ्याङ्कको आँकडा मात्र हेर्ने हो भने पनि नेपालमा सम्बन्धविच्छेदको दर तीव्र रूपमा बढिरहेको पुष्टि हुन्छ । सम्बन्धविच्छेदका घटनामा भएको यस्तो वृद्धिले सम्बन्धविच्देधबाट प्रभावित हुने बालबालिकाको सङ्ख्या पनि बढ्दै गएको अनुमान गर्न सकिन्छ । जसले बालबालिकाको समग्र शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक कल्याणप्रति गम्भीर चिन्ता उत्पन्न गरेको छ ।

अभिभावकको सम्बन्धविच्छेदपछि बालबालिकाले आफ्ना भावनाहरूलाई विभिन्न व्यवहारमार्फत व्यक्त गर्न सक्छन् । यसका कारण उनीहरूमा आचरणसम्बन्धी समस्या, आक्रामक वा विनाशकारी व्यवहार तथा आवेगपूर्ण प्रतिक्रिया देखिन सक्छ। विशेषगरी सानै उमेरका बालबालिकाको मस्तिष्क पूर्ण रूपमा विकसित भइसकेको हुँदैन । जसका कारण उनीहरूले परिस्थितिलाई अरूको दृष्टिकोणबाट बुझ्न सक्दैनन् । उनीहरूले घटनालाई आफ्नै दृष्टिकोणबाट मात्र व्याख्या गर्ने भएकाले असामान्य वा अनपेक्षित व्यवहार देखाउन सक्छन् ।

बालबालिकाका लागि आमाबुबाको सम्बन्धविच्छेदले उनीहरूको सम्पूर्ण संसार नै एकाएक परिवर्तन भएको जस्तो अनुभूति गराउन सक्छ । यो अवस्था उनीहरूका लागि अत्यन्त अन्योलपूर्ण, पीडादायी तथा मानसिक रूपमा आघातपूर्ण हुन सक्छ, जसले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । साथै, क्रोध, चिन्ता, दुःख, अन्योल र निराशाजस्ता भावनाहरूले उनीहरूको समग्र व्यवहार र व्यक्तित्व विकासलाई समेत प्रभावित गर्न सक्छन्

यस्ता छन् सम्बन्धविच्छेद भएका परिवारका बालबालिकाका अनुभव

अनुसन्धानकर्ता जे. एफ. स्टोनका अनुसार आमाबुबाको सम्बन्धविच्छेदपछि बालबालिकाको जीवनमा धेरै व्यावहारिक र सामाजिक परिवर्तन आउँछन्। उनीहरूले नयाँ घरमा बसाइँ सर्नुपर्ने, सौतेनी परिवारसँग बस्नुपर्ने वा आमाबुबासँगको भेटघाट र सम्बन्धमा परिवर्तन अनुभव गर्न सक्छन् । तर यी परिवर्तनले बालबालिकालाई कति असर गर्छ भन्ने कुरा परिवर्तन कसरी, कहिले र कस्तो ढंगले व्यवस्थापन गरिन्छ भन्नेमा निर्भर हुन्छ।

अध्ययनहरूले आमाबुबाको सम्बन्धविच्छेद भएका वयस्क सन्तानसँगै नबस्ने अभिभावकसँगको सम्पर्क अपेक्षाकृत कम हुने र उनीहरूसँगको सम्बन्ध पनि कमजोर हुने देखाएका छन् । यसका साथै, सम्बन्धविच्छेदको प्रभाव एक पुस्ताबाट अर्को पुस्तासम्म पुग्न सक्ने अनुसन्धानहरूले देखाएका छन्। अर्थात् जसका आमाबुबाको सम्बन्धविच्छेद भएको हुन्छ, उनीहरू आफ्नै वैवाहिक जीवनमा पनि सम्बन्धविच्छेदको बढी जोखिममा पर्न सक्ने सम्भावना रहन्छ ।

डाउलिङ र गोरेल-बार्नेसका अनुसार धेरैजसो बालबालिकालाई आफ्ना आमाबुबाको सम्बन्ध किन टुट्यो भन्ने कुरा प्रष्ट थाहा नै हुँदैन । यसले गर्दा उनीहरू अलमलमा पर्ने, रिसाउने र मनमा अनेकौं उतारचढाव महसुस गर्ने गर्छन् । मेरो अनुसन्धानमा, आमाबुबा छुट्टिएपछि बालबालिकाको मनमा कस्तो असर पर्छ भनेर बुझ्न यो अध्ययन एउटा बलियो आधार बनेको छ।

उल्रिक जार्टलर आफ्नो अनुसन्धानमा भन्छन् कि आमाबुबाको सम्बन्धविच्छेदपछि बालबालिकाको जीवनमा एकैचोटि धेरै परिवर्तनहरू आउँछन् । जस्तै, परिवारको एकजना सदस्य (आमा वा बुबा) घरबाट अलग हुनुपर्ने, पुरानो घर छोडेर नयाँ ठाउँ र नयाँ विद्यालयमा जानुपर्ने, हजुरबुबा-हजुरआमा, साथीहरू र विद्यालयका सहपाठीहरूसँग दूरी बढ्ने, घरको आर्थिक अवस्था कमजोर हुने, आमाबुबाको नयाँ विवाहपछि सौतेनी दाजुभाइ, दिदीबहिनी वा नयाँ सदस्यहरूसँग मिल्नुपर्ने तथा भविष्यमा थप पारिवारिक उतारचढावको सामना गर्नुपर्ने । यी सबै कुराहरूले सम्बन्धविच्छेदपछि बालबालिकाको जीवन कसरी पूरै बदलिन्छ भन्ने कुरालाई देखाउँछन् ।

सम्बन्धविच्छेद भएका परिवारका छोराछोरीले राम्रो खाना, सुरक्षित बास, कपडा, उपचार र पढाइ खर्चको अभाव झेल्नुपर्ने सम्भावना बढी हुन्छ। यसले के देखाउँछ भने सम्बन्धविच्छेदको असर मनको पीडासँग मात्र सीमित हुँदैन । बरु यसले बालबालिकाको गाँस, बास, पढाइ र भविष्यका अवसरहरू समेत खोस्न सक्छ ।

आर्थिक अवस्थामा पर्ने असर

आमाबुबा छुट्टिँदा परिवारको आर्थिक अवस्थामा पनि सिधा असर पर्छ। नेगा गेडेफ एग्मासेका अनुसार पैसाको अभाव हुँदा आमाबुबालाई आफ्ना छोराछोरीको खर्च धान्न गाह्रो हुन्छ। यसले गर्दा अभिभावक आफैं पनि आर्थिक, सामाजिक र मानसिक समस्यामा पर्छन् ।

बालबालिकाको राम्रो हुर्काइका लागि गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराहरू नभई हुँदैन । तर सम्बन्धविच्छेदपछि आम्दानी घट्दा यी आवश्यकताहरू पूरा गर्न धेरै गाह्रो हुन्छ। सम्बन्धविच्छेद भएका परिवारका छोराछोरीले राम्रो खाना, सुरक्षित बास, कपडा, उपचार र पढाइ खर्चको अभाव झेल्नुपर्ने सम्भावना बढी हुन्छ। यसले के देखाउँछ भने सम्बन्धविच्छेदको असर मनको पीडासँग मात्र सीमित हुँदैन । बरु यसले बालबालिकाको गाँस, बास, पढाइ र भविष्यका अवसरहरू समेत खोस्न सक्छ ।

भविष्यको सम्बन्धमा असर

वालेरस्टाइन, लुइस र ब्लेक्सलीको अर्काे अनुसन्धानले आमाबुबा छुट्टिएपछि सबैभन्दा ठूलो असर सन्तान वयस्क भएपछि देखिने कुरा बताउँछ । विशेषगरी प्रेम, निकटता र जीवनभर सँगै रहने बाचा गर्ने बेलामा उनीहरूलाई गाह्रो हुन्छ। आमाबुबाको सुखी वैवाहिक जीवनलाई नजिकबाट देख्न नपाउँदा र आफ्नै परिवार टुटेको नमीठो सम्झनाले गर्दा उनीहरूमा अरूसँग सम्बन्ध गाँस्ने आत्मविश्वास हुँदैन ।

यसले गर्दा उनीहरू प्रेममा असफल हुने, मन दुखाउने र निराश बन्ने सम्भावना रहन्छ । त्यस्तै, आमाबुबाको सुखी वैवाहिक जीवनको उदाहरण देख्न नपाउँदा सन्तानको मनमा सम्बन्धप्रति शङ्का र अविश्वास बढ्ने कुरा वालेरस्टाइन, लुइस र ब्लेक्सलीले पनि उल्लेख गरेका छन् । यसरी सम्बन्धविछोडले सन्तालाई भविष्यमा विश्वासिलो र बलियो सम्बन्ध बनाउन गाह्रो बनाउने कुरा पुष्टि गर्छ ।

कार्टराइट र म्याकडोवेलले सन् २००८ मा गरेको अध्ययनमा किशोरकिशोरीहरूले आमाबुबाको सम्बन्धविच्छेदका कारण आफूहरू प्रेम सम्बन्धमा पर्न डराउने गरेको र आफ्नो सम्बन्ध लामो समयसम्म टिकाइराख्ने कुरामा शङ्का गर्ने गरेको बताएका थिए ।

वालेरस्टाइन र लुइसको अनुसन्धानले पनि आमाबुबा छुट्टिएका धेरै वयस्क छोराछोरीहरूले आफूहरू विवाहका लागि तयार नभएको महसुस गर्ने गरेको देखाउँछ । आमाबुबाको टुटेको सम्बन्धकै कारण उनीहरूमा कसैसँग मायामा बाँधिए पनि विवाह गर्न डराउने र लामो समयसम्म प्रतिबद्ध रहन हिचकिचाउने जस्ता व्यवहार देखिने गरेका छन् । यसले बाल्यकालमा परिवार टुटेको पीडाले मानिसको वयस्क अवस्थाको प्रेम र विवाहको निर्णय गर्ने जस्ता कुराहरूमा कति गहिरो छाप छोड्छ भन्ने कुरा पुष्टि गर्दछ ।

नेपालको नीति तथा कानुन

नेपालमा बालअधिकारको सुरक्षा गर्ने मुख्य कानुन बालबालिका सम्बन्धी ऐन, २०७५ हो । यसले आमाबुबाको सम्बन्धविच्छेदपछि बालबालिकाको अधिकार र हितलाई जोगाउन विशेष जोड दिन्छ । उक्त ऐनअनुसार बालबालिकालाई उनीहरूको इच्छाविपरीत आमाबुबाबाट अलग गर्न मिल्दैन । यदि कुनै कारणले अलग बस्नै परेमा पनि बालबालिकाको भलाइलाई ध्यानमा राखेर दुवै आमाबुबासँग नियमित भेटघाट र कुराकानी गर्न पाउने अधिकार दिइएको छ ।

 

यस्तै, मुलुकी देवानी संहिता, २०७४ ले सम्बन्धविच्छेदपछि साना छोराछोरीको रेखदेख कसले गर्ने भन्ने नियम बनाएको छ । उक्त कानुनले आमाबुबाबीच बच्चाको जिम्मेवारीबारे विवाद भएमा बच्चा हाल जोसँग बसिरहेको छ, उसैको निर्णयलाई प्राथमिकता दिइने व्यवस्था गरेको छ ।

यस कानुनले आमाबुबा वा अभिभावकको दायित्व पनि तोकेको छ। उनीहरूले बालबालिकालाई राम्रोसँग पाल्नुपर्ने, पढाउनुपर्ने र हेरचाह गर्नुपर्ने हुन्छ । कुनै पनि अवस्थामा बच्चालाई अलपत्र पार्न वा बेवास्ता गर्न नपाइने पनि कानुनले स्पष्ट पारेको छ । यी नियमहरूको मुख्य उद्देश्य आमाबुबाको सम्बन्धविच्छेदका कारण बालबालिकामा पर्ने नराम्रो असरलाई कम गर्नु हो ।

मुलुकी देवानी संहिता, २०७४ ले उमेर अनुसार बच्चाको जिम्मा कसले पाउने भन्ने कुरा तोकेको छ। ५ वर्षभन्दा साना बालबालिकाको हकमा, आमाले चाहेमा उनको दोस्रो विवाह भए पनि वा नभए पनि बच्चा आमाकै जिम्मामा रहनेछ । ५ वर्ष वा सोभन्दा माथिका बालबालिकाको हकमा आमाले दोस्रो विवाह नगरेको भए मात्र बच्चा आमासँग रहनेछ । दोस्रो विवाह गरेमा सामान्यतया बच्चा बाबुको जिम्मामा जानेछ। साथै, १० वर्ष पुगेका बालबालिकाको हकमा उनीहरूको आफ्नै इच्छा वा रोजाइलाई पनि मान्नुपर्छ। बालबालिकासम्बन्धी ऐन, २०७५ ले पनि जुनसुकै निर्णय गर्दा बालबालिकाको हितलाई नै सबैभन्दा माथि राख्नुपर्ने व्यवस्था गरेको छ।

तर नेपालमा बालबालिका जोगाउने राम्रा कानुनहरू भए पनि कार्यान्वयन पक्ष भने निकै फितलो हुने गरेको छ । सम्बन्धविच्छेद भएका परिवारका धेरै बालबालिका अझै पनि बेवास्ता, गरिबी, पढाइमा बाधा, मानसिक चिन्ता र सामाजिक असुरक्षा भोगिरहेका छन् । यसले कानुनमा लेखिएका अधिकार र बालबालिकाले साँच्चिकै पाएको सुविधाबीच ठूलो खाडल रहेको देखाउँछ ।

अनुसन्धानका प्रमुख निष्कर्ष

मेरो अनुसन्धानमा सहभागी युवाहरूले बाल्यकालमा आमाबुबा छुट्टिँदा भोगेका भोगाइहरूलाई आफ्नो जीवनकथाका रूपमा सुनाएका छन् । उनीहरूका कुरा सुन्दा सम्बन्धविच्छेदले बालबालिकाको भावना, पैसा, पढाइ, समाज र मनमा धेरै लामो समयसम्म असर पारेको देखिन्छ देखियो। यस अनुसन्धानका मुख्य निष्कर्षहरू यस प्रकार छन् ः

(यहाँ प्रस्तुत गरिएका अनुभवहरू अनुसन्धानमा सहभागी भएका व्यक्तिहरूका वास्तविक भोगाइ हुन् । उनीहरूको गोपनीयताका लागि वास्तविक नाम नराखेर काल्पनिक नामहरू प्रयोग गरिएका छन् । यसले उनीहरूको पहिचान सुरक्षित राख्दै वास्तविक अनुभवहरूलाई जस्ताको तस्तै प्रस्तुत गर्न मद्दत गरेको छ ।)

१. आर्थिक अभाव र आर्थिक असुरक्षा

अनुसन्धानले देखाएको एउटा महत्त्वपूर्ण पाटो के हो भने आमाबुबा छुट्टिएपछि बालबालिकाले गम्भीर आर्थिक संकट भोग्नुपर्छ । धेरैजसो सहभागीहरूले सम्बन्धविच्छेदपछि घरको आम्दानी घटेको, दैनिक गर्जो टार्न धौधौ परेको र सानै उमेरमा पैसा कमाउनुपर्ने बाध्यता आइलागेको बताए । यसले उनीहरूको पढाइ, स्वास्थ्य र जीवनस्तरमा ठूलो असर पारेको देखिन्छ । यसलाई स्पष्ट पार्दै २४ वर्षीया नेग्मा भन्छिन्, ूबुबाले हामीलाई छोडेपछि बिहानबेलुकीको छाक टार्न पनि गाह्रो भयो। होस्टेलमा दिदीहरूको लुगा धोएर पाएको पैसाले आफ्नो सरसफाइका सामानहरू किन्थेँ।ू

यसबाट प्रष्ट हुन्छ कि सम्बन्धविच्छेदले बालबालिकालाई भावनात्मक रूपमा मात्र नभएर आर्थिक रूपमा पनि निकै कमजोर बनाउँछ।

२. सम्बन्धविच्छेद अघिको घरेलु हिंसा

धेरैजसो सहभागीहरूले आमाबुबा छुट्टिनु अगावै घरमा सधैं हुने झगडा, कुटपिट, मानसिक तनाव र शङ्काको वातावरणमा बाँच्नुपरेको बताए । उनीहरूका लागि सम्बन्धविच्छेद हुनुभन्दा अगाडिको त्यो अशान्त वातावरण नै सबैभन्दा गाह्रो र डरलाग्दो अनुभव थियो । १८ वर्षीया रेजी भन्छिन्, “बुबाले आमाको अगाडि नै अरू महिलाहरू घरमा ल्याउनुहुन्थ्यो । सानै उमेरमा यस्ता कुराहरू आफ्नै आँखाले देख्नु मेरो लागि ज्यादै पीडादायी थियो ।” यसले देखाउँछ कि बालबालिका आमाबुबाको सम्बन्धविच्छेद हुनुअघि नै गहिरो मानसिक चोटबाट गुज्रिरहेका हुन्छन्।

३. आमाबुबासँगको भावनात्मक दूरी

अनुसन्धानले देखाएअनुसार सम्बन्धविच्छेदपछि धेरै सहभागीहरूको आफ्ना आमाबुबासँगको आत्मीय सम्बन्ध सकिएको थियो। उनीहरूले बाल्यकालमा पाउनुपर्ने माया, आडभरोसा र सुरक्षा नपाएकाले वयस्क हुँदा पनि आमाबुबासँग दूरी बढेको महसुस गरे । २४ वर्षीया नेग्मा भन्छिन्, “आजसम्म पनि मेरो आमाबुबासँग मनको कुनै सामीप्य छैन । म उहाँहरूबाट कुनै आशा पनि राख्दिनँ ।” यसले बाल्यकालमा टुटेको विश्वास र सम्बन्धले युवा अवस्थामा पनि आमाबुबासँग गहिरो दूरी कायम राख्ने गरेको कुरालाई संकेत गर्छ ।

४. माया र अपनत्वको खोजी

घरमा आमाबुबाको माया र स्नेह नपाउँदा धेरै सहभागीहरूले बाहिर अरू मानिसहरूमा अपनत्व खोज्ने प्रयास गरे। तर उचित मार्गनिर्देशन नहुँदा कतिपय अवस्थामा उनीहरू गलत सम्बन्धमा फसे र अझ बढी मानसिक पीडा भोग्न बाध्य भए । २४ वर्षीया स्याम भन्छिन्, “घरमा कसैको माया नपाएपछि मैले बाहिर माया खोज्ने प्रयास गरेँ तर त्यसले मेरो जीवन नै बिगार्ने गरी पीडा दियो ।” यसले बाल्यकालमा स्नेह नपाएका सन्तानहरू भविष्यमा कमजोर र असुरक्षित सम्बन्धमा सजिलै फस्न सक्छन् भन्ने देखाउँछ।

५. पढाइमा बाधा

आमाबुबा छुट्टिँदा बालबालिकाको पढाइमा प्रत्यक्ष बाधा पुग्छ। पैसाको अभाव, घरको अशान्ति र सानै उमेरमा आइपर्ने घरायसी जिम्मेवारीका कारण कतिपयले बीचमै विद्यालय छोड्नुपर्‍यो त कतिपयले आफ्नो लक्ष्य पूरा गर्न सकेनन् । २४ वर्षीया नेग्मा भन्छिन्, “बुबाले घरको साथ छाडेपछि बिरामी आमाको रेखदेख र दुईजना बहिनीको जिम्मेवारी मेरो टाउकोमा आयो, त्यसैले मैले पढाइ बीचमै छोड्नुपर्‍यो ।” यसले देखाउँछ कि पारिवारिक विघटनले बालबालिकाको सुनौलो भविष्य र शिक्षाको अवसर समेत खोस्छ।

६. नातागोता र समाजबाट तिरस्कृत

आमाबुबा छुट्टिएपछि नातागोता र समाजसँगको सम्बन्ध पनि फितलो हुँदै जान्छ। समाजले हेर्ने नकारात्मक दृष्टिकोण र मानिसहरूले कुरा काट्ने डरले गर्दा धेरै सहभागीहरूले आफूहरू सामाजिक जमघटमा जान हिचकिचाएको र महसुस गर्ने गरेको उल्लेख गरे । २२ वर्षीय राहुल भन्छन्, “आमाबुबा छुट्टिएपछि मामाघर वा आफन्तकोमा जान पनि लाज र अप्ठ्यारो लाग्थ्यो। नातागोता केवल नाम मात्रको भयो ।” यसले सम्बन्धविच्छेदको सामाजिक असर कति गहिरो हुन्छ भन्ने स्पष्ट पार्छ।

७. प्रेम सम्बन्ध र विवाहप्रतिको त्रास

धेरैजसो सहभागीहरूले आफ्ना आमाबुबाको सम्बन्धविच्छेद देखेका कारण भविष्यमा कसैसँग प्रेम गर्न वा विवाह गर्न निकै डराउने गरेको बताए। आफ्नो सम्बन्ध पनि आमाबुबाको जस्तै असफल हुने हो कि भन्ने पीरले उनीहरूलाई सताइरहन्छ। २४ वर्षीया स्याम भन्छिन्, “मलाई भविष्यमा कसैसँग सम्बन्ध जोड्न निकै डर लाग्छ। कतै मेरो वैवाहिक जीवन पनि आमाबुबाको जस्तै त हुने होइन भन्ने चिन्ता लागिरहन्छ ।” यसले देखाउँछ कि बाल्यकालको नमीठो पारिवारिक अनुभवले मानिसको वयस्क जीवनको सम्बन्धमा कति लामो समयसम्म असर गरिरहन्छ।

८. कानुनको कमजोर कार्यान्वयन

नेपालमा बालबालिकाका लागि राम्रा कानुन भए पनि ती नियमहरू व्यवहारमा लागू नभएको सहभागीहरूको अनुभवले देखाउँछ। सम्बन्धविच्छेदपछि आमाबुबाले आफ्नो आर्थिक वा अभिभावकीय दायित्व पूरा नगर्दा पनि कानुनले त्यसलाई कार्यान्वयन गराउन नसकेको पाइयो। २४ वर्षीया स्याम भन्छिन्, “बुबाले सम्बन्धविच्छेदपछि हाम्रो कुनै जिम्मेवारी लिनुभएन। कानुनमा धेरै कुरा लेखिए पनि व्यवहारमा हामीले कुनै सहयोग पाएनौं र पूर्ण रूपमा अलपत्र पर्‍यौं ।” यसले नेपालको कानुनी व्यवस्था र यसको व्यवहारिक कार्यान्वयनबीच निकै ठूलो खाडल रहेको कुरालाई पुष्टि गरेको छ ।

समग्र निष्कर्ष तथा निचोड

यो अनुसन्धानले के स्पष्ट पारेको छ भने सम्बन्धविच्छेद भनेको आमाबुबाको सम्बन्धको अन्त्य मात्र होइन । बरु बालबालिकाको पूरै जीवनलाई असर गर्ने एउटा गम्भीर सामाजिक र मानसिक मोड हो । सहभागीहरूको भोगाइले यसको असर मनको पीडा, पैसाको अभाव, पढाइमा बाधा, सामाजिक दूरी र भविष्यको विवाहसम्म नै पुग्ने देखाएको छ । धेरैजसो सहभागीहरूले सम्बन्धविच्छेद हुनुअघि नै घरमा झगडा, कुटपिट र उपेक्षा भोगेका थिए । त्यसपछि पनि उनीहरूले आर्थिक संकट, मायाको कमी, पढाइ छुट्नु, नातागोतासँग टाढिनु र मानसिक तनाव झेल्नुपर्‍यो ।

नेपालमा बालबालिकाको भलाइका लागि कानुनहरू भईकन पनि व्यवहारमा लागू हुन नसकेको उनीहरूको कथाले देखाउँछ । त्यसैले, सम्बन्धविच्छेद भएका परिवारका छोराछोरीलाई केवल कानुनी अधिकार मात्र होइन, बरु उचित मानसिक परामर्श, आर्थिक टेवा र पारिवारिक सहयोग कार्यक्रमहरूको खाँचो छ।

सुझाव

यो अनुसन्धानबाट एउटा मुख्य कुरा के बुझ्न सकिन्छ भने सम्बन्धविच्छेद भएका परिवारका छोराछोरीलाई मद्दत गर्न हामीले उनीहरूकै मनका कुरा सुन्नुपर्छ । उनीहरूलाई के चाहिन्छ भनेर हामीले आफैँ अनुमान लगाउने होइन, बरु उनीहरूका अनुभव र भावनालाई ध्यान दिएर सुन्ने बानी बसाल्नुपर्छ । बाहिरबाट हेरेर मात्र कसैको अवस्था बुझ्न सकिँदैन ।

अनुसन्धानमा सहभागी भएका युवाहरूको कथाले देखाउँछ कि सम्बन्धविच्छेद भएका परिवारमा हुर्कनु निकै कठिन यात्रा हो । उनीहरूले पैसाको अभाव, मायाको कमी, परिवार टुट्नु, समाजबाट टाढिनु र भविष्यको डर जस्ता अनेकौं दुःख भोगेका छन् । यस्ता भोगाइहरूले उनीहरू बाल्यकाललाई असर पारेन । बरु युवा अवस्थासम्म आइपुग्दा पनि नमेटिने घाउ छाडेको छ ।

हाम्रो समाजमा बच्चाको अवस्था बाहिरी व्यवहार हेरेर मात्र थाहा पाउने चलन छ। यदि कुनै बच्चाले स्कुलमा राम्रो अंक ल्याउँछ वा शान्त बस्छ भने उसलाई सबै ठीक छ भन्ने सोचिन्छ । आफ्नो दुःख व्यक्त नगर्ने वा हल्ला नगर्ने बच्चालाई समस्या छैन भन्ने अनुमान गरिन्छ । तर मेरो अनुसन्धानले देखाएको छ कि धेरै बालबालिकाले आफ्नो मनको पीडा, एक्लोपन र डरलाई भित्रभित्रै दबाएर राखेका हुन्छन् । उनीहरूको मौनता उनीहरू ठीक छन् भन्ने लक्षण होइन । त्यो त उनीहरूले आफ्नो कुरा व्यक्त गर्न नसकेको अवस्था हुन सक्छ।

यस अनुसन्धानले के औंल्याउँछ भने सम्बन्धविच्छेद भएका परिवारका बालबालिकालाई माया, मानसिक परामर्श, सुरक्षित वातावरण र अभिभावकको निरन्तर साथ चाहिन्छ । यस्तो सहयोगले उनीहरूलाई दुःखबाट निस्कन, आत्मविश्वास बढाउन र समाजमा राम्रोसँग घुलमिल हुन मद्दत गर्छ । नेपालको सन्दर्भमा आमाबुबा छुट्टिएका बालबालिकाले मानसिक परामर्श वा संरक्षण सेवा सहजै पाउन सक्दैनन् । यस्तो अवस्थामा उनीहरू थप जोखिममा पर्ने सम्भावना रहन्छ।

त्यसैले, यस्ता बालबालिकालाई केन्द्रमा राखेर विशेष बाल संरक्षण सेवा, मानसिक परामर्श र समुदायमा आधारित सहयोग प्रणाली सुरु गर्न आवश्यक छ। स्कुल, स्थानीय सरकार र सामाजिक संस्थाहरू मिलेर बालबालिकाको हितमा काम गर्नुपर्छ। यसो गर्न सकेमा मात्र सम्बन्धविच्छेदको नराम्रो असरलाई कम गरी उनीहरूलाई सुरक्षित र खुसी बाल्यकाल दिन सकिन्छ । यसले उनीहरूलाई भविष्यमा एक सबल, आत्मविश्वासी र जिम्मेवार नागरिक बन्न बलियो आधार दिने विश्वास गर्न सकिन्छ ।

(गुरुङले हालै मात्र पूर्वाञ्चल विश्वविद्यालयबाट सामाजिक कार्य [MSW] मा “Recalling Childhood Experiences of Adults with Divorced Parents: A Narrative Inquiry” शीर्षकमा शोधकार्य [थेसिस] सम्पन्न गर्दै स्नातकोत्तर उपाधि हासिल गरेकी हुन् ।)

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट